- रेखा चन्द

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (भदौ २९ गते)बाट सर्वसाधारणलाई दसैँका लागि नयाँ नोट साट्ने व्यवस्था सुरु गरेको छ। 

काठमाण्डौको बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयमा आज नयाँ नोट साट्नेको भीड लागेको थियो। नयाँ नोट साट्नेको भीडले दसैँको आगामन भएको महसुस भएको सर्वसाधारणहरुले बताए। नयाँ नोट साट्न पुगेकाहरु निकै उत्साहित देखिन्थे। 

नयाँ नोट साट्न राष्ट्र बैंक पुगेका कलंकीका चन्द्र लम्साल यसपालि नयाँ नोट साट्न निकै सहज भएको बताए। ‘पहिलेको भन्दा अहिले निकै सहज भएको छ’, उनले भने। 

लम्सालले नेपालको परिवेशमा अहिले नै डिजिटल भुक्तानीको प्रचलन सुरु नभइसकेको बताए। ‘विस्तारै डिजिटल भुक्तानीको प्रचलन सुरु होला, तर अहिले नै नोटको प्रचलन हराउलाजस्तो मलाई लाग्दैन’, उनले भने। 

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालका अनुसार आजदेखि उपत्यकाभित्रका सर्वसाधारणले दसैँका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट नयाँ नोट साट्न पाउनेछन्। ‘उपत्यकाबाहिरका सर्वसाधारणले  भने असोज २ गतेदेखि साट्न पाउने व्यवस्था मिलाइएको छ’, उनले भने। 

नेपालका अनुसार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म नयाँ नोट साट्ने व्यवस्था गरिएको छ। 

सर्वसाधारणले राष्ट्र बैंकको कार्यालय, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुबाट नयाँ नोट साट्न सक्नेछन्। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बढी २ पटकसम्म नयाँ नोट वितरण गर्ने नेपालले बताए। 

बैंकहरुलाई बढीमा असोज ७ गतेसम्म नयाँ नोट दिइने र सर्वसाधारणले असोज १४ गतेसम्म नयाँ नोट सटही गर्न सक्ने नेपाल बताउँछन्। राष्ट्र बैंकका अनुुसार प्रतिव्यक्तिले ५, १०, २०, ५० र १०० दरका गरी कुुल १८ हजार ५ सय रुपैयाँ नयाँ नोट सटही गर्न सक्नेछन्।