काठमाण्डौ । दसैँमा घर जानका लागि आजबाट लामो दूरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ खुला गरिएको छ। 

काठमाण्डौको गोंगबुस्थित नयाँ बसपार्कमा टिकट काट्न बिहानैदेखि सर्वसाधारण पुगेका छन्। कोभिड संक्रमण जोखिमलाई ध्यानमा राखेर टिकट काट्न पुगेकाहरुलाई भौतिक दूरी कायम गर्ने गरी लाइनमा बस्ने व्यवस्था गरिएको छ। 

भीडभाड कम होस् भने बसपार्कमा ३२ वटा टिकट काउन्टरमार्फत अग्रिम बुकिङ खुला गरिएको छ। यसपालि थप ११ वटा काउन्टर थपिएको छ। 

गत बिहीबार बसेको यातायात व्यवस्था विभागको बैठकले आजबाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। 

विभागले भौतिक उपस्थितिमै टिकट काट्ने व्यवस्थालाई निरुत्साहित गर्न अनलाइन बुकिङ गर्न यातायात व्यवसायीलाई आग्रह पनि गरेको थियो। सोहीअनुरुप कतिपय यातायात व्यवसायीले अनलाइन टिकट बुकिङको व्यवस्था पनि मिलाएका छन्।