– रेखा चन्द

काठमाण्डौ । नेपालीको महान् पर्व विजयादशमी सकिएको छ। 

विशेषगरी दसैँमा आफूभन्दा ठूला मान्यजनबाट सानाले टीका, जमरा, आर्शीवादसँगै दक्षिणा पाउने गर्दछन्। तुुलनात्मक रुपमा दसैँमा बालबालिकाको दक्षिणा भने बढी हुने गर्दछ।

ठूलाबडाबाट पाएको दक्षिणालाई कति व्यक्ति तथा बालबालिकाले फजुल खर्च गर्ने गरेको पाइन्छ। वित्तीय शिक्षा भएकाहरु भने आकर्षक प्रतिफल पाइने उपयुक्त ठाउँको खोजीमा हुन्छन्। वित्तीय सारक्षरता बढिरहेको अहिलेको परिप्रेक्ष्यमा भने अधिकांशले फजुल खर्चलाई कटौती गरी आकर्षक प्रतिफल आउने उपयुक्त स्थानमा बचत तथा लगानी गर्ने गर्दछन्।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले रकम बचत गर्ने ग्राहकलाई आकर्षक ब्याजदरसहित उच्च प्रतिफल प्रदान गर्दै आइरहेका छन्। बैंकहरुले थोरै रकम जम्मा गर्ने गरी दुईगुुणा, तीनगुुणादेखि २० गुुणासम्म प्रतिफल पाइने योजनाहरु ल्याएका छन्। 

अहिले वाणिज्य बैंकहरुमा व्यक्तिगत मुुद्दति निक्षेपमा १२.०३ प्रतिशत ब्याजदर पुुगेको छ। यसका साथै बालबालिकालाई लक्षित गरी बैंकहरुमा विभिन्न बालबालिका बचत योजना छन्। दसैँमा बालबालिकाले पाएको दक्षिणालाई बाल बचत खाता खोली रकम बचत गर्दा बैंकले आकर्षक व्याजदर प्रदान गर्नेछ। बैंकहरुमा आकर्षक ब्याजदर हुनुका साथै अहिले घटिरहेको सेयर बजारमा लगानी गर्दा पनि राम्रो प्रतिफल पाइने विज्ञहरु बताउँछन्।

लगानीका अधिकांश पाटोमध्ये सबैभन्दा कम जोखिमको पाटो बैंकमा बचत गर्नु हो। चाहे बालबालिकाको रकम होस् वा अन्य व्यक्ति तथा संघसस्थानै किन नहोस्।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील पोखरेल दसैँमा बालबालिकाले पाएको दक्षिणालाई अविभावकले बैंकहरुले ल्याएको दोब्बर तथा तेब्बर योजनामा लगानी गर्दा उपयुक्त हुने देखिएको बताउँछन्। ‘अहिले अलि पैसा हुने हो भने बैंकले ल्याएको दोब्बर–तेब्बर योजनामा पैसा जम्मा गर्यो भने त्यो अझै राम्रो हुन्छ’, उनले भने। 

सीईओ पोखरेलले बालबालिका बचत खातामा रकम जम्मा गर्दा पनि उचित ब्याजदर पाइने बताए।  

मुक्तिनाथ विकास बैंकका सीईओ प्रद्युम्न पोखरेल अहिले डिजिटल दक्षिणा प्राप्त भएको बताउँछन्। ‘अहिले डिजिटल दक्षिणा प्राप्त भएको छ। त्यसलाई बचतमा राख्दा एकदमै फाइदा हुन्छ’, उनले भने,  ‘ठूूलो मात्रामा दक्षिणाको रकम प्राप्त भएको छ भने फिक्स्ड डिपोजिटमा राख्दा अझै उपयुुक्त हुन्छ।’ 

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा मुद्रा व्यवस्थान विभागका प्रमुख रेवतीप्रसाद नेपाल बैंकहरुले राम्रो ब्याजदर दिइरहेकाले बैैंकमा बचत गर्दा फाइदा हुने बताउँछन्। ‘अहिले बैंकहरुले राम्रो ब्याज दिईरहेको अवस्था छ। त्यसैले भएको रकमलाई बैंकमा जम्मा गर्दा फाइदा होला’, उनले भने, ‘यसबाहेक सेयर बजार पनि घटिरहेका छ। सेयरमा लगानी गर्दा पनि फाइदै होला।’