नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा तीव्र गतिमा बढेको प्रदूषण नियन्त्रणका लागि दिल्ली सरकारले ९ कदम उठाउने भएको छ । 

बीबीसी हिन्दीका अनुसार दिल्लीभरि निकै विषालू प्रदूषण फैलिएर मानिसको स्वास्थ्यमा गम्भीर असर पर्न थालेपछि केजरीवाल सरकारले निम्न ९ निर्णय गर्ने भएको हो । 

१.आगामी तीन दिनसम्म दिल्लीका सबै स्कूल(सरकारी र निजी) बन्द गरिनेछ ।
२.दश दिनका लागि बदरपुरस्थित पावर प्लान्ट बन्द गर्ने घोषणा गरिएको छ । 
३.बदरपुर पावर प्लान्टबाट खरानी उडाउन समेत बन्द गरिनेछ । 
४.दिल्लीमा पाँच दिनसम्म सबै प्रकारका निर्माण कार्य बन्द गरिनेछ । 
५.सोमबारदेखि सडकमा पानी छर्किन थालिनेछ । 
६.दश दिनसम्म दिल्लीमा जेनेरेटर चलाउन समेत प्रतिबन्ध लगाइएको छ । 
७.दिल्लीमा पराल र पतिंगर जलाउन समेत पूर्ण निषेध गरिएको छ । 
८.आगामी दश नोभेम्बरबाट दिल्लीका सडकहरुको भ्याकुम क्लिनिंगको काम सुरु गरिनेछ ।
९.दिल्लीमा कृत्रिम वर्षा गराउने बिषयमा समेत सरकारले सोंच बनाइरहेको छ । 

मास्क लगाएर प्रदर्शन


यसैबीच, दिल्लीमा अत्यासलाग्दो गरी बढिरहेको प्रदूषणप्रति मानिसलाई जागरुक बनाउन जन्तरमन्तर क्षेत्रमा आइतबार स्कूले बच्चा र तिनका अभिभावकले मास्क लगाएर प्रदर्शन गरेका छन् । 

दिल्लीमा प्रदूषणको स्तर कुन हदसम्म बढेको छ भन्ने कुरा राज्य सरकारले लिएको निर्णयहरुबाट समेत प्रष्ट हुन्छ । 

दिल्लीमा आइतबार एयर  क्वालिटी इण्डेक्स ९९९ को स्तरमा पुगेको छ, जुन निकै खतरनाक अवस्था हो । आम रुपमा ० देखि ५० सम्मको स्तरलाई मात्र राम्रो मानिन्छ । ५१  देखि १ सयसम्मको स्तर पनि स्वास्थ्यका लागि हानिकारक मानिदैन । 

प्रदर्शनमा सहभागी बालबालिकाले भनेका  छन्–‘हामी खुल्ला क्षेत्रमा खेल्न चाहन्छौ, स्कूल जान चाहन्छौ, तर सबैले मिलेर हावालाई निकै बिषाक्त बनाइदिएका छन् ।’ 

पर्यावरणमन्त्री अनिल दवेले दिल्लीजस्तो महानगरको पर्यावरणीय स्थिति ३६४ दिनदेखि नै खराब रहे पनि विगत १०  १२ दिनदेखि भने अवस्था झनै  बिग्रिएको छ । 

पेट्रोल, डिजेलको प्रयोग, काठ, सुखा पात र कोइला जलाउँदा जून दुर्गन्ध फैलिरहेको  छ, यो नै सबैभन्दा खतरा बन्दैछ । 

मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली धूँवाको गढ बन्दै गएको छ । धूँवा हटिरहेको छैन र अवस्था  निकै भयानक  बनेको उनको दाबी छ । हावा यति  धेरै बिषाक्त भएको छ कि राजधानी दिल्लीमा मास्कको बिक्री ऐतिहासिक रुपमा निकै धेरै उचाईमा पुगेको छ । 

(फोटो फिचरका लागि तलका प्रत्येक फोटो क्लिक गर्नुहोस्)

तस्विर : एपी र बीबीसी 

समाचार :  बीबीसी हिन्दीबाट भावानुवाद