काठमाण्डौ । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले जनताको पैसा धरापमा पारेर कारबाहीको सिफारिसमा परेका दीपेन्द्र अग्रवाललाई अगाडि बढाएका कारण सेयर लगानीकर्ताको आन्दोलन गन्हाउन थालेको आरोप लगाएका छन् । 

बिजशालासँग कुरा गर्दै बोर्ड अध्यक्ष हमालले धितोपत्र बोर्डले गठन गरेको सुझाव कार्यान्वयन समितिमा लगानीकर्ताको तर्फबाट प्रतिनिधित्व गर्ने मुख्य मान्छेको रुपमा दीपेन्द्र अग्रवाललाई राख्नुपर्ने कुरा आएपछि अन्तिम अवस्थामा सहमतिको वातावरण बिथोलिएको दाबी गरेका हुन् । 

उनले आफैंले कारबाहीका लागि नेपाल राष्ट्रबैंक र प्रहरीको सेन्ट्रल इन्भेष्टिगेसन ब्यूरो(सीआइबी)मा सिफारिस गरेका व्यक्तिलाई पूँजीबजारको समस्या समाधानका लागि गठित सुझाव कार्यान्वयन समितिमा राख्न नसक्ने र अग्रवालकै पछि आन्दोलनरत लगानीकर्ता लाग्दा हुनै लागेको सहमति समेत भाँडिएको बताए । 

‘दीपेन्द्र अग्रवालको पछि लागेर उहाँहरुले कुरा फेरेपछि अम्बिका पौडेल लगायतका सबै साथीहरु फर्किएर जानुभयो, उहाँहरुले अग्रवालकै कारण आन्दोलनबाट पछाडि हटिसक्नुभएको छ । मैले नै राष्ट्रबैंकमा खाता रोक्का गर्नु भनेर पठाएको व्यक्ति, छानबिनका लागि सीआइबीलाई लेखिपठाउने पनि मै । अनि मैले नै सुधार समितिको मेन मान्छे दीपेन्द्रलाई बनाउने हो भने त म जस्तो फटाहा र पागल त कोही पनि भएन नि ।’ उनले भने–‘हाम्रो पोजिसन केही पनि परिवर्तन भएको छैन । कार्यान्वयन समिति बनाउने भनेर घोषणा गरिसक्दा अग्रवाललाई समितिमा राख्नुपर्यो भन्ने माग एकाएक आयो । जनताको पैसा धरापमा पारेको मान्छेलाई धितोपत्र बजार सुधार समितिको कार्यान्वयन समितिको सदस्य कुन नैतिकताले मैले बनाउने ?’

उनले लगानीकर्ताले वार्ताको क्रममा पटक पटक कुरा फेरेका र यसमा दीपेन्द्र अग्रवालले चलखेल गरेको दाबी समेत गरे । ‘हिजो मलाई झुक्याए, आज निवेदन लिएर आए । निवेदन आएपछि जूस खुवाउने कुरा भयो, मैले ससम्मान जूस पनि लिएर आएँ । निवेदन ग्रहण गरेर कार्यान्वयन समिति बनायौं, हामीले भनेर उहाँहरुकै अगाडि घोषणा भयो ।’ उनले भने–‘त्यसमा हाम्रो तर्फबाट काम छिटो होस् भनेर दुई कार्यकारी निर्देशक राखेका छौं । त्योभन्दा बढी मैले के लचकता देखाउने ? के अब बाहिर आएर म चिच्याऔं, कराऔं ?’

उनले अग्रवाल नेतृत्वको समूहको गुण्डागर्दी अब धेरै नचल्ने पनि प्रष्ट पारे । ‘गुण्डागर्दीले कुनै नीति बन्छ ? १० जनाको कुरालाई हेरेर सारा देशको नीति बनाउन मिल्छ ?’ आक्रोशित हुँदै उनले भने–‘तिलकजीले यो कुरा बुझेको जस्तो छ । अम्बिका जी जस्ता बुझेका मान्छेहरु आजको दिनदेखि आन्दोलनबाट आउट नै भइसक्नुभयो । बिस्तारै आन्दोलन गन्हाएर गयो ।’

उनले लगानीकर्ताहरुले राखेका १९ बुँदे मागमध्ये आफूहरुले गर्नसक्ने मागको तालिका बनाएर पूरा गर्ने प्रतिबद्धता दोहोर्याए । तर, आफूहरुको कार्यक्षेत्रभन्दा बाहिरको मागमा केही पनि गर्न नसक्ने प्रष्ट्याए । 

‘हामीले गर्नसक्ने कुरालाई महिनाको क्यालेण्डरमा राखिसकेका छौं । कुनै पनि बुँदा छुटेको छैन । तर, जुन कुरा सम्भव नै छैन, त्यो सक्दैनौं।’ उनले थपे–‘कर्मचारीको रिटायरमेन्ट सुरक्षाका लागि सञ्चयकोषमाको जम्मा भएको पैसामा इफ र बट हुँदैन । कोषको ७० प्रतिशत पैसालाई म्युचुअल फण्डमा लगाउने बाध्यकारी व्यवस्था गर्नुपर्छ भन्ने उहाँहरुको माग छ । यस्तो मागलाई कसरी पूरा गर्न सकिन्छ ? अनि के रिटायरमेन्ट फण्डको पैसा म्युचुअल फण्डमा लगेर रिस्क लिइदिने ? क्यापिटल फण्डको लगानी रिस्की हो त्यसै पनि । साना लगानीकर्ता संकलन गर्ने एउटा मेकानिजम मात्र हो म्युचुअल फण्ड भनेको । तर, अचानक संसारमा नभएको मोडल परिवर्तन गरेर ७० प्रतिशत पैसा म्युचुअल फण्डमा हाल्ने ? अनि यो १० जनाको भीडको गालीसँग डराएर नेपालको सारा कर्मचारीको रिटायरमेन्ट सिस्टमलाई फेल गराइदिने ?’ 

आन्दोलनमा दीपेन्द्र अग्रवालजस्ता मानिसहरुको घूसपैठ भएको र लगानीकर्ताको तर्फबाट झूठा कुरा बोलिएको, बारम्बार झुक्याउने काम मात्र भएको उनको आरोप छ । ‘हामीलाई पनि बारम्बार झुक्याउने हो भने म पनि किन वार्ता गर्न जाने ? वार्ता त अब सम्भव नै भएन नि ।’ उनले भने–‘उहाँहरुले स–सम्मान अनसन तोड्ने हो भने हामीले घोषणा गरिसकेका कुराबाट ब्याक हुँदैनौं । उहाँहरुलाई ससम्मान राखेर कार्यवाही अगाडि बढाउँछौ । तर अब हामी उहाँहरुको ट्रयापमा पर्दैनौं ।’ 

उनले दीपेन्द्र अग्रवालको निर्देशनमा सडक तताएर देशको सारा नीति परिवर्तन नहुने र यस्तो प्रवृति आफूहरुलाई स्वीकार्य नभएको प्रष्ट पारे। 

उनले लगानीकर्ताहरुले आफूले गरिसकेको र गरिरहेको काम पनि मागहरुको बुँदामा राखेको चर्चा गरे । ‘म आएको ४ महिनामा कत्ति कुरा चेञ्ज गरिसकेँ । उनीहरुले ल्याएको त्यो १९ बुँदामध्ये एउटा चाहिँ ब्रोकरहरुले नै टिएमएस प्रणाली बनाउने भनेको थियो, त्यो समेत लागू भइसक्यो । एसएमई प्लेटफर्म राख्ने भनेको छ, मैले यो कुरा अगाडि बढाएको ३ महिनाभन्दा बढी भइसक्यो । मर्जर एक्वीजिसनमा कारोबार लामो समयसम्म बन्द नहुने व्यवस्थाका लागि मैले ३ महिनाअघि नै गभर्नर साबसँग मिटिङ गरेर टास्कफोर्स बनाइदिएको छु ।’ उनले अगाडि भने–‘यस्तो काम गरेको मान्छेलाई पनि जागिर छाड, पद छाड, यो चोर हो, यसको घरमा जानुपर्छ, घरमा ताला लगा भनेर नारा लगाइरहेका छन् । हामी चाहिँ ह्यूमान होइनौं ? हाम्रो चाहिँ डिग्नीटी छैन ? गाली सुनेर म वार्ता गर्नुपर्ने ?’ 

उनले आन्दोलनमा अग्रवाल देखिएपछि यो विषयमा बोर्डले नेपाल प्रहरीलाई जानकारी गराइसकेको र यो सूइँको पाएर अग्रवाल आजदेखि देखिन छाडेको सूचना आफूसम्म आइपुगेको पनि दाबी गरे। 

अडियो सुन्न केही तल जानुहोस् :-

सम्बन्धित समाचार: