काठमाण्डौ । गोल्डम्यान इन्भेष्टमेन्टको नाममा लगानीकर्ताहरुलाई ठगी गरेको आरोपमा अनुसन्धानमा तानिएका सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालबाट पीडित भएकाहरु सम्पर्कमा नआउँदा अनुसन्धान अगाडि बढ्न नसकेको खुलेको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले धितोपत्र बोर्डबाट आएको फाइलअनुसार अनुसन्धान अगाडि बढाइएको भए पनि हालसम्म अग्रवालबाट पीडित हुनेहरु ‘पीडित भएँ’ भनेर सम्पर्कमा नआएका र काठमाण्डौमा रहेका लगानीकर्ताहरु सम्पर्कमा आए पनि उनीहरुले स्वेच्छाले नै सो कम्पनीमा लगानी गरेको भनेका कारण कारबाही अगाडि बढाउन समस्या भएको बताएको छ । 

सीआइबीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार दीपेन्द्र अग्रवालको गोल्डम्यान इन्भेष्टमेन्टमा काठमाण्डौबाट लगानी गर्नेमध्ये अधिकांश प्रहरीको सम्पर्कमा आइसकेका छन् । ‘सम्पर्कमा आएका सबैले आफ्नो स्वेच्छाले नै लगानी गरेको बताएका छन् । पीडित हुँ भन्दै कसैले उजुरी नदिंदा अग्रवालमाथि ठगीमा मुद्धा चलाउने हाम्रो तयारी रोकियो ।’ प्रउ महतोले भने–‘काठमाण्डौबाहिरबाट भने कोही पनि प्रहरीको सम्पर्कमा आइसकेका छैनन् ।’ 

उनले अग्रवालबाट ठगीमा परेको कसैले उजुरी दिएको खण्डमा उनीमाथि कारबाही हुने प्रष्ट पारे । 

‘बरु म पुनः अग्रवालबाट कोही ठगिएका छन् भने हाम्रो सम्पर्कमा आउन आह्वान गर्छु ।’ प्रउ महतोले भने–‘स्वेच्छाले नै अग्रवालको स्किममा लगानी गरेको भनेर मानिसहरु आएका छन् । हामीलाई थप कारबाही अगाडि बढाउने आधार भएन ।’

धितोपत्र बोर्डले भने पर्याप्त आधार र कारणसहित दीपेन्द्र अग्रवालमाथि अनुसन्धान गरी कारबाही अगाडि बढाउन आफूहरुले प्रहरीलाई पत्र लेखेको बताएको छ । बोर्डका एक अधिकारीले अग्रवालले राजनीतिक शक्ति प्रयोग गरेर अनुसन्धान प्रभावित गरेका हुनसक्ने आशंका व्यक्त गरे । ‘दीपेन्द्र अग्रवालले गोल्डम्यानको नाममा जसरी सामाजिक सञ्जालमा बिज्ञापन गरे, त्यो नै ठगीको बलियो प्रमाण हो नि । यसकै आधारमा समेत प्रहरीले उनीमाथि कारबाही गर्न सक्छ ।’ ती अधिकारीले भने–‘लामो समयसम्म अनुसन्धानको अपडेट हामीले पाउन सकेका छैनौ । सम्भावित कारबाहीबाट बच्न अग्रवाल केही साता भारतमै लुकेर बसे । सबै सेटिङ मिलाएर अहिले नेपाल आएका हुनसक्छन् ।’

अहिले १० लाख रुपैयाँ लगानी गरे १० वर्षमा १० करोड बनाइदिने भन्दै अग्रवालले विज्ञापन गरेका थिए । उनी लगायतले प्रहरीले अनुसन्धान थालेसँगै ‘गोल्डम्यान इन्भेष्टमेन्ट’ नामक कम्पनीको संस्थापक सेयर गुपचुप बेचेर उन्मुक्ति पाउने बाटो रोजेका यसअघि नै खुलासा भइसकेको छ । 

गोल्डम्यान इन्भेष्टमेन्ट नामको पब्लिक लिमीटेड कम्पनीको अनावश्यक प्रचारप्रसार गरी लगानीकर्तालाई बेवकुफ बनाई अग्रवाल लगायतका संस्थापकहरुले आफ्नो नामको सेयर अरुलाई भिडाउने खेलमा समेत सफलता पाएका थिए । 

वि.सं. २०७१ मा सातजना संस्थापकको नाममा गोल्डम्यान इन्भेष्टमेन्ट  नामक पब्लिक लिमिटेड कम्पनी कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गरिएको थियो । सो कम्पनी रजिस्ट्रार कार्यालयमा दिपेन्द्र अग्रवाल, जयप्रकाश अग्रवाल, कुसुम देवी अग्रवाल, सबिता अग्रवाल, नरेन्द्र कुमार अग्रवाल, ज्योति अग्रवाल र रेशु अग्रवालको नाममा दर्ता भएको थियो।

पाँच करोड चुक्तापुँजी भएको गोल्डम्यानमा सेयर बजारका खेलाडी दिपेन्द्र अग्रवालको ५० हजार कित्ता अर्थात् ५० लाख र बाँकी सेयरधनीको भने ७५ हजार कित्ता अर्थात् ७५ लाख रुपैयाँ बराबरको सुरुवाती लगानी रहेको थियो। 

नेपाली सेयर बजारको बुलिस यात्रा सुरु भएसँगै गोल्डम्यानको संस्थापक सेयर धनीहरूको दिन भने एकाएक फेरिएको थियो । प्राप्त जानकारी अनुसार बजार बढ्न सुरु भएसँगै गोल्डम्यानका संस्थापक सेयरधनीहरूले विभिन्न स्किमको प्रलोभन देखाउँदै आफूहरूसँग भएको सेयर अन्य लगानीकर्ताहरूलाई बेच्न सफल भएका थिए । यही खेलले समेत प्रहरीको अनुसन्धान प्रभावित भएको हुनसक्ने कतिपयको अनुमान छ । 

सम्बन्धित समाचारहरु: