काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले थप ४० प्रतिशत हकप्रद निष्कासनका लागि प्रक्रिया अगाडि बढाउने भएको छ। 

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले थप ४० प्रतिशत हकप्रद निष्कासन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। हकप्रद निष्कासनको स्वीकृतिका लागि कम्पनीले विद्युत नियमन निकायमा अनुरोध गर्ने निर्णय बैठकले गरेको छ।

यसअघि कम्पनीले ३० प्रतिशत हकप्रद निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। यो ३० प्रतिशत हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ पुग्नेछ। सोही चुक्तापुँजीको ४० प्रतिशतले हुन आउने हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी ५४ करोड १७ लाख ६८ हजार ५०० रुपैयाँ पुग्नेछ।

कम्पनीले माथिल्ला छन्दी खोला साना जलविद्युत आयोजना (४ मेगावाट) निर्माण गरिरहेको छ। तर कोभिड महामारी र बाढीपहिरोका कारण लागत केही वृद्धि भएकोले आयोजना निर्माण सम्पन्न गर्नका लागि आवश्यक रकम दीर्घकालीन ऋण यसै आयोजनामा लगानी गरिरहेका बैंक अफ काठमाण्डू र कुमारी बैंकसमक्ष माग गर्ने निर्णय कम्पनीले गरेको छ।

सोही दीर्घकालीन ऋण प्रस्तावित हकप्रद सेयर जारी भुक्तानी गर्ने गरी कम्पनीले ४० प्रतिशत हकप्रद निष्कासन गर्न विद्युत नियमन आयोगसमक्ष स्वीकृतिका लागि अनुरोध गर्ने कम्पनीले निर्णय गरेको हो।