काठमाण्डौ । नवील बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने प्रक्रिया धरापमा परेसँगै त्यसको प्रभाव दोश्रो बजार मूल्यमा समेत देखिएको छ । 

नेपाल बंगलादेश बैंकको ठूलो परिमाणको सेयर खरीद गरेर नवील बैंकसँग मर्जर गराउन नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीले गरेको प्रयासमा जिल्ला अदालतले ब्रेक लगाइदिएपछि ‘संभावित मर्जर’ नहुने बुझाईले लगानीकर्ता हच्किँदा बंगलादेश बैंकको दोश्रो बजार मूल्यमा प्रभाव परेको देखिएको हो । 

बुधबार जिल्ला अदालत काठमाण्डौले बंगलादेशको ढाकास्थित आइएफआइसी बैंकको स्वामित्वमा रहेको नेपाल बंगलादेश बैंकको ४१ प्रतिशत सेयर खरीद प्रक्रिया रोक्न आदेश दिएसँगै नवीलसँगको मर्जर प्रक्रिया धरापमा परेको हो । 

सनराइज बैंकका अध्यक्षसमेत रहेका ब्यवसायी मोतीलाल दुगडले आइएफआइसी बैंकले आफूलाई बंगलादेश बैंकको सेयर बिक्रीका लागि सम्झौता गरेको, तर धोकापूर्ण तरिकाले आफूलाई छलेर चौधरीसँग सम्झौता गरेकोमा आपत्ति जनाउँदै अदालतको ढोका ढकढक्याएका थिए । दुगडले नेपाल बंगलादेश बैंक, आइएफआइसी र नेपाल राष्ट्रबैंकलाई समेत विपक्षी बनाएर हालेको मुद्धामा पुस २७ गते काठमाण्डौ जिल्ला अदालतले सेयर बिक्री गर्ने कार्य नगर्नु÷नगराउनु भन्ने आदेश दिंदै ७ दिनभित्र नेपाल बंगलादेश बैंकलाई लिखित जवाफ पेश गर्न भनेको छ । 

न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासबाट भएको आदेशमा भनिएको छ–‘नेपाल बंगलादेश बैंकको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता सेयर १५७ रुपैयाँका दरले खरीद गर्न ३१ मार्च २०२१ मा राखिएको प्रस्ताव स्वीकार गरी विपक्षीबाट २ अप्रिल २०२१ मा स्वीकृत गरी करार कार्य अगाडि बढिसकेको भन्ने उजुरी साथ पेश गरेको पत्रबाट देखिन्छ। त्यो पत्र अनुसार सेयर विपक्षीबाट लिखित जबाफ प्राप्त नभएसम्म सो सेयर अन्य ब्यक्तिलाई बिक्री गर्ने काय नगर्नु नगराउनु भनी विपक्षीका नाउँमा आदेश जारी गरिएको छ।’ 

बंगलादेश बैंकले आइएफआइसीका तर्फबाट गत असार २९ गते सार्वजनिक सूचना जारी गर्दै सेयर खरिदका लागि विद्यमान सेयरधनीलाई आह्वान गरेको थियो। सेयर खरिदका लागि एनबी समूहबाट परेको आवेदन राष्ट्रबैंकले खारेज गरिदिएको थियो । त्यसपछि आइएफआइसीले आफ्नो स्वामित्वमा रहेको नेपाल बंगलादेश बैंकको सबै सेयर दुगड ग्रुपलाई बिक्री गर्ने सम्झौता गरेको थियो । सन् २०२१ अप्रील पहिलो सात दुगड ग्रुपसँग यस्तो सम्झौता भएको थियो । यो समूहले प्रतिकित्ता १५७ रुपैयाँको दरले बंगलादेश बैंकको सेयर उठाउने सम्झौता गरेका थिए । 

तर, सम्झौता भएको लामो समयसम्म पनि बाँकी प्रक्रियाहरु अगाडि बढ्न नसकिरहेको बेला आइएफआइसीले दुगड ग्रुपलाई थाहै नदिई चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीसँग सेयर बिक्रीको सम्झौता गरेपछि समस्या सिर्जना भएको हो । दुगड समूहले सम्झौताको मर्मविपरीत आइएफआइसीले विनोद चौधरीकी पत्नी सारिका चौधरीलाई सेयर बिक्री गर्ने सम्झौता गरेपछि अदालतमा मुद्धा हालेको हो । सोही मुद्धामा अदालतले आदेश गरिदिएपछि नवील बैंकमा गाभिने आशाका साथ बंगलादेश बैंकको सेयर किनेर राख्नेहरु समेत अन्यौलमा परेका छन् ।

मूल्यमा प्रभाव
काठमाण्डौ जिल्ला अदालतको आदेश आएको थिएन भने नवील बैंक र नेपाल बंगलादेश बैंकबीच पूर्व योजनाअनुसार यही साता मर्जरमा जाने सम्झौता हुने थियो । तर, अदालतको आदेशपछि तत्कालका लागि त्यो संभावना टरेको स्रोतहरु बताउँछन् । 

अदालतमा दुगड ग्रुपले पेश गरेका सम्झौतासँग सम्बन्धित कागजात बलियो भएका कारण अदालतले उसकै पक्षमा अन्तिम आदेश दिने संभावना समेत प्रवल रहेको जानकार बताउँछन् । उनीहरुका अनुसार नवील बैंकसँग एनबी बैंकको संभावित मर्जर प्रक्रिया सुरु नहुँदै तुहिने अवस्थामा पुगेको छ । 

दुई ठूला व्यापारिक घरानाबीच यो प्रकरणपछि प्रतिष्ठाको लडाई समेत सुरु भएको देखिएको छ । यसमा कुन समूहले कसरी बाजी मार्छ भन्ने कुरा अन्यौलमै देखिन्छ । यही अन्यौलका कारण दोश्रो बजारमा एनबी बैंकको सेयरमूल्य घट्ने अवस्थामा देखिएको छ । 

अदालतको आदेश नआउञ्जेल बढ्न थालेको एनबी बैंकको सेयरमूल्य बिहीबार भने लामो समयसम्म स्थिर देखियो । २ बजे आसपासबाट भने घट्ने क्रम देखियो । बंगलादेश बैंकको सेयर किन्नेभन्दा बढी बिक्री गर्नेहरु समेत देखिए ।