काठमाण्डौ । पछिल्लो दुई साताको अवधिमा बैंकिङ प्रणालीमा ४८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत मंसिर २७ गतेदेखि पुुस १२ गतेभित्र प्रणालीमा ४८ अर्ब रुपैयामँ निक्षेप बढेको हो। गत मंसिर २७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५२ खर्ब २८ अर्ब रुपैयाँमा रहेकोमा पुस १२ गतेसम्म ४८ बढेर ५२ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ। 

यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ४४ अर्ब रुपैयाँले बढेको छ। पुस १२ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप बढेर ४६ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर २७ गतेसम्म कुल निक्षेप ४६ खर्ब ७ अर्ब रुपैयाँ थियो। 

गत मंसिर २७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४७ खर्ब ५८ अर्ब रुपैयाँ रहेकोमा पुस १२ गतेसम्म ३ अर्बले बढेर बढेर ४७ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ। 

राष्ट्र बैंकका अनुुसार यो दुई साताको अवधिका अन्तरबैंक ब्याजदर भने बढेको छ। गत मंसिर २७ गतेसम्म अन्तरबैंक ब्याजदर ६.९७ प्रतिशत रहेकोमा पुस १२ गतेसम्म बढेर ८.२९ प्रतिशतमा पुगेको छ।

बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम बढे पनि कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) भने केही बढेको छ। गत मंसिर २७ गतेसम्म औसत सीडी रेसियो ८६.१५ प्रतिशत रहेकोमा पुस १२ गतेसम्म बढेर ८६.२८ प्रतिशत कायम भएको छ।