काठमाण्डौ । एमालेसहितको सत्ता गठबन्धन २ महिनामै भत्किएको छ । योसँगै मुलुकको संघीय र प्रदेश तहका सरकारहरुमा पनि अनिश्चितताको यात्रा सुरु हुने देखिएको छ । 

बालुवाटारमा बसेको आठ दलको बैठकले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेसँगै वर्तमान सत्ता गठबन्धन भत्किएको हो । 

योसँगै सत्ता समीकरण पनि परिवर्तन हुने निश्चित देखिएको छ भने एमालेबाहेकका दलहरुको सहभागितामा अबको सरकार तथा अन्य समीकरणहरु तयार हुनेछन् । आठ दलको निर्णयसँगै चुनावअघिको सत्ता गठबन्धन ब्यूँताउने प्रयास सफल भएको छ भने कम्युनिष्ट पार्टीहरुबीच एकता गरी नेकपा ब्यूँताउन अगाडि सरेकाहरु असफल बनेका छन् । 

हिजो साँझसम्म नेकपा ब्यूँताएर कम्युनिष्ट मोर्चा बनाउने कुरामा देशमा अस्तित्वमा रहेका क्रियाशील कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु सहमति नजिक थिए । तर, रात रह्यो, अग्राख पलायो भने झै रातभरमा खेल परिवर्तन गरियो । र, शुक्रबार बिहानदेखि बिग्रिएको सत्तासीन दल तथा कम्युनिष्टहरुबीचको छलफल निश्कर्षविहीन बन्न पुग्यो । यही मौकामा कांग्रेस र माओवादी केन्द्रको लगातारको प्रयासले सार्थकता पाई आठ दलीय गठबन्धन तयार भएको हो । 

बालुवाटारमा भएको बैठकमा राष्टपति नेपाली कांग्रेसलाई दिने सैद्धान्तिक निर्णय गरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । कांग्रेसले भोलि(शनिवार) बिहान बैठक बसेर राष्ट्रपतिको उम्मेद्वार कसलाई बनाउने भन्ने निर्णय गर्नेछ । कांग्रेसबाट राष्ट्रपतिमा रामचन्द्र पौडेलको ज्यादा सम्भावना छ । भारतको इच्छा भने कृष्ण सिटौलालाई राष्ट्रपतिको उम्मेद्वार बनाउने रहेको छ । कतिपयले बाह्य तथा आन्तरिक शक्तिहरुले भने कांग्रेस सभापति शेरबहादुर देउवालाई उम्मेद्वार बनाउने जोड गरिरहेका छन् । 

बालुवाटारमा हालै सम्पन्न बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी सहभागी थिए । बैठक चलिरहँदा जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी पनि थपिएका थिए ।