काठमाण्डौ । बैंक तथा बित्तीय संस्थामा फेरि पनि जागिरको बग्रेल्ती अवसर खुलेको छ । 

बुधबार २ वाणिज्य बैंक र राष्ट्रिय स्तरका २ विकास बैंकले २५० बढी कर्मचारी मागेका छन् । 

सिद्धार्थ बैंक र एनसीसी बैंकले १ सय ४५ कर्मचारी मागेका छन् भने राष्ट्रिय स्तरका विकास बैंक सांग्रीला र गण्डकीले ७० भन्दा बढी कर्मचारी मागेका छन् ।

सिद्धार्थ बैंकले मात्रै १३७ भन्दा बढी कर्मचारी मागेको छ । यो बैंकले शाखा प्रबन्धकदेखि क्रेडिट डिपोजिट रिलेसनसीप लगायतका पदमा १० कर्मचारी मागेको छ । 

यसैगरी, अफिसर तहमा काम गर्ने गरी १४ वटा शाखाका लागि शाखा प्रबन्धक, केही शाखाका लागि रिलेसनसीप अफिसर, उपत्यकाभित्रका १० वटा शाखाका लागि समेत शाखा प्रबन्धकका लागि जागिरको अवसर खुलाएको छ ।

सिनियर अफिसर तहको शाखा प्रबन्धकमा आवेदन दिन चाहनेले स्नातकसम्मको अध्ययन पूरा गरी बैंक तथा बित्तीय संस्थामा ४ वर्षको कार्यानुभव प्राप्त भएको हुनुपर्नेछ । 

यस्तै, अफिसर लेभलको जागिरमा स्नातक उत्तीर्ण गरी ३ वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।

सिद्धार्थ बैंकले जुनियर अफिसर तहमा उपत्यकाभित्र र बाहिरका शाखामा काम गर्ने गरी २४ कर्मचारी मागेको छ । जुनियर असिस्टेन्ट लेभलमा ५२ कर्मचारी मागेको छ । स्नातक उत्तीर्ण गरी २ वर्षको कार्यानुभव भएकोले जुनियर अफिसर तहमा तथा डेढ वर्ष कार्यानुभव भएकाले जुनियर असिस्टेन्टमा आवेदन दिन सक्ने बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

सिद्धार्थले माइक्रोबैकिङ डिपार्टमेन्टमा काम गर्ने गरी २० कर्मचारी मागेको छ । स्नातक गरी एकवर्षको अनुभव प्राप्त गरेकाले यो पदमा आवेदन दिन सक्नेछन् ।

सिद्धार्थले खुलाएका नयाँ जागिरका लागि माघ २२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । अनलाइन आवेदन समेत दिनसकिने व्यवस्था मिलाइएको छ ।

यसैबीच, नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले समेत केही कर्मचारी माग गर्दै सूचना प्रकाशन गरेको छ । 

डिजिटल बैंकिङ अन्तर्गत अफिसर तहमा २ जना, सहायक तहको सफ्टवेयर डेभलपरमा २ जना, २ चार्टर्ड एकाउन्टेन्ट र एकजना सेक्युरिटी हेड माग गरिएको छ ।

विकास बैंकमा पनि अवसर
यसैगरी, राष्ट्रिय स्तरको विकास बैंक, सांग्रीला डेभलपमेन्ट बैंकले ३३ वटा शाखा कार्यालयका लागि ब्राञ्च म्यानेजर र ३४ क्रेडिट इञ्चार्जका लागि जागिरको अवसर खुलाएको छ ।

ब्राञ्च म्यानेजरको पदमा स्नातक उत्तीर्ण भई ४ वर्षको कार्यानुभव भएकाले तथा क्रेडिट इञ्चार्जमा स्नातक उत्तीर्ण भई २ वर्षको कार्यानुभव भएकाले आवेदन दिन सक्ने बताइएको छ ।

यी दुवै पदमा माघ ९ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । 

उता, राष्ट्रियस्तरकै अर्को विकास बैंक गण्डकी विकास बैंकले केही चार्टर्ड एकाउन्टेन्ट, केही ब्राञ्च इञ्चार्ज, रिलेसनसीप अफिसर तथा म्यानेजमेन्ट ट्रेनी मागेको हो । यो बैंकले खुलाएका जागिरमा समेत इच्छुकले माघ ९ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।