काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्षको बोनस सेयरका लागि २ कम्पनीको सेयरमूल्य समायोजन गरेको छ।

नेप्सेले आज सिर्जना फाइनान्स र महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार सिर्जना फाइनान्सको प्रतिकित्ता १८५ रुपैयाँ र महिला सहयात्राको १ हजार १४५ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता सिर्जना फाइनान्सको २१० रुपैयाँ र महिला सहयात्राको १ हजार २५९ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यी दुवै संस्थाको सेयर कारोबार खुल्नेछ।

सिर्जना फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको कुल १४.२७ प्रतिशत लाभांश यही चैत १४ गते हुने २० औँ वार्षिक साधारणसभाबाट अनुमोदन गर्दैछ। जसमा १३.५९ प्रतिशत बोनस सेयर र बाकी ०.६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

त्यस्तै महिला सहयात्राले पनि गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १०.५३ प्रतिशत लाभांश यही चैत १८ गते हुने आठौँ वार्षिक साधारणसभाबाट पारित गर्नेछ। जसमा १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश रहेका छन्।

सभा र लाभांश प्रयोजनका लागि दुवै कम्पनीले आज चैत १ गते बुक क्लोज गरेका छन्। यसको अर्थ फागुन २६ गतेसम्म कायम सेयरधनीहरुमात्र यी दुवै संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। किनकि फागुन २७ गते (महाशिवरात्री) सार्वजनिक बिदा र फागुन २८ गते शुक्रबार परेको थियो।