काठमाण्डौ । लिलामीमा राखिएका दुई वाणिज्य बैंकसहित ४ कम्पनीका सेयर खरिदका लागि बोलपत्र पेस गर्ने आज असोज ८ गते अन्तिम दिन रहेको छ। 

प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले लिलामीमा राखेको प्रभु बैंक, प्राइम कमर्सियल बैंक, नेसनल लाइफ इन्स्योरेन्स र नेपाल ग्रामीण विकास लघुवित्तका सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन रहेको हो। प्रुडेन्सियल क्यापिटलले गत भदौ ३१ गतेबाट यी ४ कम्पनीमा रहेको आफ्नो स्वामित्वको कुल २ लाख ८५ हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ। जसमा प्रभु बैंकको ५० हजार कित्ता, प्राइम बैंकको १ लाख कित्ता, नेसनल लाइफको १ लाख र नेपाल ग्रामीण विकास लघुवित्तको ३५ हजार कित्ता रहेका छन्। 

लिलामीमा राखिएको सेयरमा विद्यमान संस्थापक वा जोकाही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम २ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतमका लागि भने हद लाग्ने छैन।

लिलामीमा राखिएको प्रभु बैंकको न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपैयाँ, प्राइम बैंकको २०८ रुपैयाँ, नेसनल लाइफको ४२१ रुपैयाँ र नेपाल ग्रामीण विकास लघुवित्तको ४०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाण्डौ बबरमहलस्थित कार्यालयमा पेस गर्नुपर्नेछ।