काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ को बोनस सेयरका लागि दुई वाणिज्य बैंकसहित तीन कम्पनीको सेयरमूल्य समायोजन गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्रभु बैंक, सनराइज बैंक र मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्यमा समायोजन गरेको हो। मूल्य समायोजनपछि प्रतिकित्ता प्रभुको २९४.७३ रुपैयाँ, सनराइजको २५४.१० रुपैयाँ र मनकामना स्मार्टको १३३३.३३ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता प्रभुको ३३०.१० रुपैयाँ, सनराइजको २७१ रुपैयाँ र मनकामना स्मार्टको १५६० रुपैयाँ रहेको छ। अब समायोजित मूल्यअनुसार यी तीनै कम्पनीको सेयर कारोबारमा आउनेछन्। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि यी तीनैले आज पुस ४ गते बुक क्लोज गरेका छन्। यसको अर्थ पुस १ गते (पुस २ गते शुक्रबार र पुस ३ गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

प्रभु बैंकले गत आर्थिक वर्षका लागि कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। 

प्रभु बैंकको प्रस्तावित लाभांश आउँदो पुस १८ गते हुने २० औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ। 

यसैगरी सनराइज बैंकले गत आर्थिक वर्षका लागि ६.६५ प्रतिशत बोनस र ०.३५ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी कुल ७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश बैंकको आउँदो पुस १५ गते हुने १४ औँ वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्।

यस्तै मनकामना स्मार्ट लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १७ प्रतिशत बोनस सेयर बाँड्ने प्रस्ताव गरेको छ। प्रस्तावित बोनस सेयर संस्थाको पुस १९ गते हुने चौथो वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा ल्याइनेछ।