काठमाण्डौ । गत आर्थिक वर्षका लागि घोषित दुई वाणिज्य बैंकसहित चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज मंसिर ६ गते अन्तिम मौका रहेको छ। 

एनएमबि बैंक, नेपाल एसबीआई बैंक, गणपति लघुवित्त र छिमेक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको हो। यी ४ कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि मंसिर ७ गते बुक क्लोज गर्दैछन्। यसको अर्थ आज मंसिर ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीका लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

एनएमबि बैंकले कुल १५.८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १२.५ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश (करसहित) छन्।

प्रस्तावित लाभांश बैंकको यही पुस २२ गते हुने २६ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।

यसैगरी नेपाल एसबीआई बैंकले ३.५ प्रतिशत बोनस र १.८१ प्रतिशत नगद (करसहित) गरी कुल ५.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यो लाभांश बैंकको यही पुस २० गते हुने २८ औँ वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्।

गणपति लघुवित्तले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १९ प्रतिशत बोनस र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश गणपति लघुवित्तको यही पुस १७ गते हुने पाँचौँ वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ।

त्यस्तै छिमेक लघुवित्तले २७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यो लाभांश संस्थाको यही पुस २३ गते हुने २० औँ वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ।