काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि दुई वाणिज्य बैंकसहित चार कम्पनीको सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एनएमबि बैंक, नेपाल एसबीआई बैंक, गणपति लघुवित्त र छिमेक लघुवित्तको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार प्रतिकित्ता एनएमबिको ३३६.३६ रुपैयाँ, नेपाल एसबीआईको ३४४.८३ रुपैयाँ, गणपतिको ११७४.७९ रुपैयाँ र छिमेक लघुवित्तको १२४०.०८ रुपैयाँ कायम भएको छ।

यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता एनएमबिको ३७८.४० रुपैयाँ, नेपाल एसबीआईको ३५६.९० रुपैयाँ, गणपतिको १३९८ रुपैयाँ र छिमेक लघुवित्तको १५७४.९० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यी कम्पनीहरुको सेयर कारोबारमा आउने छन्। 

यी ४ कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि आज मंसिर ७ गते बुक क्लोज गरेका छन्। यसको अर्थ हिजो मंसिर ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीका लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

एनएमबि बैंकले कुल १५.८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १२.५ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश (करसहित) छन्।

प्रस्तावित लाभांश बैंकको यही पुस २२ गते हुने २६ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।

यसैगरी नेपाल एसबीआई बैंकले ३.५ प्रतिशत बोनस र १.८१ प्रतिशत नगद (करसहित) गरी कुल ५.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यो लाभांश बैंकको यही पुस २० गते हुने २८ औँ वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्।

गणपति लघुवित्तले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १९ प्रतिशत बोनस र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश गणपति लघुवित्तको यही पुस १७ गते हुने पाँचौँ वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ।

त्यस्तै छिमेक लघुवित्तले २७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यो लाभांश संस्थाको यही पुस २३ गते हुने २० औँ वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ।