काठमाण्डौ । बीमा समितिले दुर्घटना बीमा निर्देशिका, २०७८ जारी गरेको छ। 

निर्जीवन बीमा व्यवसायअन्तर्गत दुर्घटना बीमाको स्तरीकृत बीमालेख तयार गरी सोका लागि आवश्यक पर्ने बीमादरसमेत निर्धारण गरी प्रचलनमा ल्याउनका लागि बीमा ऐन २०४९ को दफा ८ को उपदफा(घ२)ले दिएको अधिकार प्रयोग गरी दुर्घटना बीमा निर्देशिका जारी गरिएको हो। दुर्घटना बीमालेख एक वर्ष वा सोभन्दा कम अवधिका लागिमात्रै जारी गर्न सकिने समितिद्वारा जारी गरिएको निर्देशिकामा उल्लेख छ। यो बीमालेखलाई व्यक्तिगत र सामूहिक गरी दुई भागमा वर्गीकरण गरिएको छ। 

बीमालेख जारी गर्दा जारी भएको समय तथा जोखिम प्रारम्भ भएको मिति (घन्टा र मिनेटसहित) उल्लेख गर्नुपर्ने। बीमालेख जारी भएको मिति र जोखिम प्रारम्भ भएको मितिबीच ३० दिनभन्दा बढी दिनको फरक पारी बीमालेख जारी गर्न नपाइने समितिले जनाएको छ।    

बीमित वा बीमालेख धारकले अनुरोध गरेमा बीमकले एक वर्षभन्दा कम अवधिका लागि बीमालेख जारी गर्नुपर्नेछ। यस्तो बीमालेखलाई छाटो अवधिको बीमालेख नाम दिइएको छ। यस्तो छाटो अवधिको बीमालेखको बीमादर १ महिनासम्मका लागि वार्षिक शुल्कको २५ प्रतिशत, १ महिनादेखि ३ महिनासम्मका लागि ४० प्रतिशत, ३ महिनादेखि ६ महिनासम्मका लागि ६० प्रतिशत र ६ महिनादेखि १ वर्षसम्मका लागि वार्षिक शुल्कको सतप्रतिशत बीमादर निर्धारण गरिएको छ। छाटो अवधिका लागि जारी बीमालेख एकपटक जारी भइसकेपछि पुनः बढाउन नपाइने व्यवस्था गरिएको छ। 

यस्तै समूहमा आबद्ध भइसकेका व्यक्तिहरुको एउटै बीमालेखद्वारा सामूहिक बीमालेख जारी गर्न सकिने व्यवस्था गरिएको छ। तर, सामूहिक बीमालेख जारी गर्नका लागि कुनै समूह खडा गर्न भने पाइने छैन र यसो गरेको प्रमाणित भएमा त्यस्तो बीमालेख स्वतः रद्द गरिने बीमा समितिले जनाएको छ। 

व्यक्तिगत दुर्घटना बीमाका लागि न्यूनतम बीमादर प्रतिव्यक्ति प्रतिहजार २ रुपैयाँ निर्धारण गरिएको छ। यस्तो बीमाशुल्कमा कुनै प्रकारको छुट र सहुलियत दिन नपाइने व्यवस्था गरिएको छ। 

सामूहिक दुर्घटना बीमालेखअन्तर्गत २ जनादेखि २५जनासम्मको समूहका लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम २ रुपैयाँ, २६ जनादेखि १०० जनासम्मका लागि १.७५ रुपैयाँ र १०० जनाभन्दा बढीका लागि १.५० रुपैयाँ बीमादर तोकिएको छ। क्षतिपूर्तिस्वरुप एक लाख रुपैयाँभन्दा बढी रकमको औषधोपचार खर्च लिन चाहेमा थप औषधोपचार खर्चका लागि थप गरिएको बीमांकको ५ प्रतिशत बीमाशुल्क कायम हुने व्यवस्था बीमा समितिले गरेको छ। 

दुर्घटना बीमालेखको बीमाशुल्क गणना गर्दा प्रतिबीमालेख १०० रुपैयाँभन्दा कम बीमाशुल्क लिन पाइने छैन। तर, लघुबीमालेखअन्तर्गत पर्ने बीमालेखको हकमा भने यो व्यवस्था लागू नहुने बीमा समितिले जनाएको छ। 

दुर्घटना बीमालेखको नामसारी वा स्वामित्व हस्तान्तरण नहुने समितिले जनाएको छ।