काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गर्दै १४९ सांसदको हस्ताक्षरसहित शितल निवास पुगेका छन् । तर, उनीभन्दा अगाडि नै केपी शर्मा ओलीले दलको पत्रसहित बहुमत सांसदसहित प्रधानमन्त्रीमा दाबी पेश गरिसकेका खुलेको छ । 

शितल निवासस्थित उच्च स्रोतका अनुसार केपी शर्मा ओलीले नेकपा एमालेका १२१ सांसदहरुको समर्थन रहेको दलको पत्रसहित जसपाका महन्थ ठाकुरका १६ सांसदको हस्ताक्षर समेत राष्ट्रपति निवास शितल निवासमा विपक्षी गठबन्धनभन्दा अगाडि नै बुझाइसकेका छन् । 

यही अवस्थातर्फ संकेत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो बालुवाटारमा सम्पादकहरुसँग कुरा गर्दै बल अरुले नै क्याच गरिसकेपछि जति दौडिए पनि रन नहुने प्रतिक्रिया दिएका थिए ।

उनले दिउँसै विपक्षीहरुको जति प्रयास गरे पनि पार नलाग्नेतर्फ संकेत गर्दै सम्पादकहरुसँग भनेका थिए-'ब्याट्सम्यानले बल उम्कायो, अर्कोले समातिसक्यो बल, अब रन बनाउँछु भनेर कुदेर हुन्छ ? उत्तरदक्षिण रन बनाउन कुदे पनि कति रन बन्छ ? यस्तो रन घरमा गएर जोड्न काम लाग्छ, राजनीतिमा काम लाग्दैन । ' 

स्रोतका अनुसार राष्ट्रपतिबाट आह्वान भएलगत्तै मध्यरातमा ओली महन्थ ठाकुरलाई लिएर शितल निवास पुगेका थिए । सोही बेला बहुमत सांसद सदस्यको हस्ताक्षरसहित ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।

एमालेको दलको पत्रसहितको दाबी पेश भइसकेपछि माधवकुमार नेपाल पक्षका २७ सांसदको हस्ताक्षरको अर्थ नहुने जानकार बताउँछन् । 

यसैबीच, माधव नेपालका विश्वासपात्र तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले देउवालाई प्रधानमन्त्रीका लागि समर्थन भएको भन्दै आफूहरुको हस्ताक्षर दुरुपयोग भएको दाबी गरेका छन् । उनले पुरानो हस्ताक्षरको दुरुपयोग भएको भन्दै आफूहरुले त्यसरी देउवालाई समर्थन नगरेको समेत प्रष्ट पारेका छन् । 

यसरी हेर्दा विपक्षी दलले भनेको जस्तो बहुमतको दाबी हात्ती आयो, हात्ती आयो, फुस्सा बन्ने अवस्था देखिएको छ । खेल अझै १ घण्टा बाँकी रहेकोले थप रोचक ट्वीस्टहरु आउने नै छन् ।