काठमाण्डौ । आफ्नै पुर्व प्रतिबद्धताविपरीत प्रचण्ड नेतृत्वको सरकारले कांग्रेस नेतृ सुजाता कोइरालालाई उपचार खर्चका लागि ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । 

कांग्रेस नेतृ सुजाता कोइरालाले स्तन क्यान्सर भएपछि सरकारसँग एककरोड उपचार खर्च मागेको विषयमा सर्वत्र आलोचना भएपछि विशिष्टहरुलाई अधिकतम १५ लाख रुपैयाँ मात्र उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि कतिपय मन्त्रीहरुलाई समेत झुक्याएर आइतबारको मन्त्रीपरिषद बैठकले ५० लाख उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको होे । 

विशिष्टहरुलाई उपचार खर्चको नाममा मनपरीतन्त्र बढेपछि सर्वसाधारणहरुको समेत मतलाई सम्मान गर्दै विशिष्ट पदाधिकारीलाई जीवनभरमा एक पटक अधिकतम १५ लाखसम्म उपचार खर्च दिन सकिने गरी स्वास्थ्य मन्त्रालयले उपचार खर्चसम्वन्धी मापदण्ड बनाएको थियो । तर, सो मापदण्डमाथि छलफल र निर्णय गर्नुअघि गृहमन्त्री विमलेन्द्र निधि र कांगे्रस सभापति शेरबहादुर देउवाको दवाबमा कोइरालालाई ५० लाख उपचार खर्च उपलब्ध गराउने निर्णय भएको हो । 

स्तन क्यान्सरबाट पीडित कोइराला थप उपचार गर्न भन्दै आइतबार नै सिंगापुरतर्फ लागेकी छिन् । 

प्रचण्ड सरकार बनेपछि पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई उपचार खर्च दिने निर्णय भएको छ । उनलाई सुरुमा ६० लाख उपचार खर्च दिइएको थियो । पछि यसलाई पेश्कीमा बदल्दै सबै उपचार खर्च दिने र टोलीको सबै खर्च व्यहोर्ने निर्णय गरेको थियो । तर, राजनीतिज्ञ तुलसी गिरीलाई उपचार खर्च दिने प्रस्ताव भने पुर्वाग्रही ढंगले रोकिएको थियो । 

यसैबीच, नेपाल तरुण दलको महाधिवेशनको क्रममा पोखरामा रहेका स्वास्थ्यमन्त्री गगनकुमार थापाले भने आफुलाई झुक्याएर सुजातालाई उपचार खर्च भनेर ५० लाख दिने निर्णय भएको दाबी गरेका छन्् । उनले यो निर्णयबाट राज्यको स्रोतको चरम दुरुपयोग भएको र क्याबिनेटले नै यो विकृतिलाई संस्थागत गर्न खोजेको बताए ।