काठमाण्डौ । मर्जर प्रक्रियामा रहेका ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)को सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) रिपोर्ट तयार भएको छ। 

दुवै बैंकले आपसमा मर्जरमा जाने सहमति गरेपछि सुुरु गरिएको डीडीएको प्रक्रिया सकिएको हो। पुस मसान्तभित्र एकीकृत कारोबार गर्ने गरी दुुवै बैंकले डीडीए रिपोर्ट तयार भएको स्रोत बताउँछ। ‘डीडीएको काय सकेर रिपोर्ट तयार भएर आइसकेको छ। अहिले सञ्चालक समितिमा थप छलफलका क्रममा छ’, स्रोतले भन्यो, ‘हाम्रा सबै काम योजनाअनुसार नै भइरहेले सम्भवत पुुसभित्रै एकीकृत कारोबार भइसक्छ।’

गत कात्तिक २४ गते बसेको दुवै बैंकको सञ्चालक समितिको बैठकले बराबर हैसियत अर्थात १ः१ समान स्वाप रेसियोमा गाभिने निर्णय गरेको थियो। दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियत रहने भएको हो। 

यी दुुई बैंकबीच गत असार २ गते मर्जरमा जाने सम्झौता भएको थियो। ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल तथा बीओकेका अध्यक्ष प्रकाश श्रेष्ठले मर्जरमा जाने सम्झौतामा हस्ताक्षर गरेका थिए। 

मर्जरपछि बन्ने बैंकको चुक्तापुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ हुनेछ। हाल ग्लोबल आइएमई बैंकको चुक्तापुँजी २३ अर्ब ७९ करोड रुपैयाँ र बीओकेको १० अर्ब ६२ करोड रुपैयाँ रहेको छ। 

मर्जरपश्चात बन्ने नयाँ बैंकको नाम ‘ग्लोबल आइएमई बीओके लिमिटेड’ रहने सम्झौता भएको छ। सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बीओकेका तर्फबाट २ जना रहने सहमति भएको छ। 

मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रत्नराज बज्राचार्य रहनेछन्। मर्जरपछि कुल पुँजी, चुक्तापुँजी, व्यवसायको आकारसहित अन्य धेरै वित्तीय परिसूचकमा ग्लोबल आइएमई बीओके मुलुककै सबैभन्दा ठूलो बैंक हुनेछ।