बुटवल । उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्रलाई चलायमान बनाउन केबलकार परियोजनाले सबैलाई हौसला प्रदान गरेको बताएका छन्। 

लुम्बिनी केबलकारको बिहीबार औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन्। ‘यस क्षणमा ७ वर्षअघि २०७३ मंसिरमा काठमाण्डौको चन्द्रागिरीमा प्रधानमन्त्रीबाट भएको चन्द्रागिरी केबलकारको उद्घाटन मेरो स्मरणमा आइरहेको छ’, ढकालले भने, ‘त्यसबेला देशले महाभूकम्पको त्रासदी व्यहोर्नुपरेको थियो। त्यो कठिन परिस्थितिमा देशमा अर्बौंको लागतमा कुनै संरचना निर्माण होला भन्ने कल्पना पनि थिएन। तर, हामीले समयमै निर्माण सम्पन्न गरेका थियौँ। भूकम्पले थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन त्यो आयोजनाको निर्माणले सबैलाई हौसला प्रदान गरेको थियो।’ 

चन्द्रागिरीबाट सुरु भएको त्यो यात्रा गत महिना मौलाकालीहुँदै आज लुम्बिनीसम्म आइपुगेको ढकालले बताए। ‘७ वर्षअघि भूकम्पले जस्तै अहिले पनि देशको अर्थतन्त्र कठिन अवस्थाबाट गुज्रिरहेको छ। तर, महामारीको त्रासदीकै बीचमा २०७७ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भएको लुम्बिनी केवलकारको आज उद्घाटन भएको छ’, उनले भने, ‘जसरी भूकम्पले थला पारेको अर्थतन्त्रलाई त्यतिबेला चन्द्रागिरी केबलकारको निर्माणले आशाको प्राण भरेको थियो, ठीक त्यसैगरी संकटग्रस्त अहिलेको अवस्थामा पनि लुम्बिनी केबलकारले महामारीबाट लडेको देशको अर्थतन्त्र धुलो टक्टकाउँदै उठेर तंग्रिन खोजेको सन्देश दिएको छ भन्ने मलाई लाग्दछ।’

‘अझै अर्काे खुसीको कुरा त यो छ कि हामीले लगभग महिना दिनकै अवधिमा मौलाकाली केबलकार पनि सञ्चालनमा ल्याएका छौँ’, ढकालले भने, ‘यो हाम्रो व्यक्तिगत सफलताका रुपमा मात्र होइन, यो सफलता तोकिएको समयमा, तोकिएको बजेटमा, तोकिएकै गुणस्तरमा काम गर्न निजी क्षेत्र सक्षम छ भन्ने सन्देश र उदाहरण बन्न सकोस् भन्ने मेरो आशय हो। ’ 

शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनी विश्वका एक तिहाइभन्दा बढी मानिसको आस्थाको धरोहर हो। ‘यतिखेर हामी भारतको बोर्डरबाट ३० मिनेट मात्रको ड्राइभमा छौँ। अर्कातर्फ लुम्बिनी क्षेत्र उत्तरी छिमेकी चीनका नागरिकको सबैभन्दा बढी इच्छाइएको गन्तव्य पनि हो’, ढकालले भने, ‘यी दुई देशको जनसंख्या झन्डै पौने ३ अर्ब पुग्न आउँछ। यो तथ्यलाई मनन् गरेर पर्यटन नीति बनायौँ भने हामी पर्यटक खोज्न धेरै तिर भौँतारिनै पर्दैन। अनि हाम्रा लागि समृद्धि धेरै टाढा पनि हुने छैन। त्यसैले मलाई लाग्छ प्रकृतिबाट समेत सुशोभित यस पुण्यभूमिमा आध्यात्मिक, सांस्कृतिक तथा पर्यटकीय संरचनाहरु जति धेरै बने पनि थोरै नै हुन्छ।’ 

यस सुन्दर भूमिको पर्यावरणीय संवेदनशीलतालाई कायमै राखी स्थानीय साझेदारीका माध्यमबाट यहाँका नागरिकको जीवनस्तर उकास्ने र पर्यटनको विकासमार्फत देशको समृद्धि हासिल गर्ने काममा आफूहरुले लाग्ने प्रतिबद्धता ढकालले गरे। ‘मलाई लाग्छ यस्ता संरचनाहरु राष्ट्रका एवं स्थानीय नागरिकका आफ्नै साझा सम्पत्ति हुन्’, ढकालले भने, ‘छोटै समयमा आज चन्द्रागिरी केबलकार काठमाण्डौबासीको मात्र नभएर नेपाल भ्रमणमा आउने विदेशी विशिष्ट व्यक्तित्वहरुको पनि एउटा उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न पुगेको छ।’ 

वर्षमा मुस्किलले दुई–चार सयजना पुग्ने चन्द्रागिरि डाँडामा अहिले दिनमै हजारौँ मानिस पुगिरहेको ढकालले बताए। ‘त्यसैले लुम्बिनी केबलकार र यहाँ बन्ने हरेक पर्यटकीय संरचनाहरु स्थानीय नागरिकका पनि साझा सम्पत्ति भएकाले यसलाई संरक्षण गर्न, हुर्काउन बढाउन र यसबाट लाभ लिन हामी सबै लाग्नुपर्छ भन्ने मेरो आग्रह हो’, उनले भने। 

लुम्बिनी केबलकार नेपाल सरकार, लुम्बिनी प्रदेश सरकार, स्थानीय सरकारहरुसहित यहाँका स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरुको सामुहिक प्रयासबाट प्राप्त माया, सद्भाव र सहयोगका कारण समयमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सफल भएको ढकालले खुुसी व्यक्त गरे। ‘यो संरचनाबाट लाभान्वित हुने पनि तपाइँ हामीहरु नै भएकाले यसलाई संरक्षण र सम्बद्र्धन गरी एक प्रसिद्ध गन्तव्यस्थल बनाउन हामी सबै लाग्ने छौँ भन्ने मेरो अपेक्षा छ’, उनले भने। 

रुपन्देही र पाल्पा जिल्ला जोड्ने यस पर्यटकीय पूर्वाधारले रुपन्देही, पाल्पा, नवपरासी र कपिलवस्तु जिल्ला र समग्र लुम्बिनी प्रदेशकै आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुर्याउने विश्वास अध्यक्ष ढकालको छ। ‘अझ भन्ने हो भने रुपन्देहीलाई लुम्बिनी प्रदेशको आर्थिक राजधानी बनाउने यो प्रदेशका राजनीतिक नेतृत्व तथा आमजनताको चाहनालाई पुरा गर्न यो परियोजना कोशेढुंगा साबित हुनेछ भन्ने हामीले आशा लिएका छौँ’, उनले भने। 

अध्यक्ष ढकालले यहाँ निर्माण गरिएका पाँचतारे होटेल, मन्दिरलगायत पूर्वाधारले भारतका सीमावर्ती सहरका पर्यटकहरुलाई आकर्षित गर्ने र यसले विदेशी मुद्रा आर्जन गर्नुका साथसाथै सीमादेखि नै विभिन्न प्रकारका रोजगारी सिर्जना मद्दत पुग्ने आशा व्यक्त गरे। ‘भारतको गुवाहटीस्थित कामाख्या भगवतीबाट विधिपूर्वक आमन्त्रण गरी ल्याइएकी कामाख्यादेवीको शास्त्रीय पूजा एवं अनुष्ठानका साथ यहाँ निर्मित मन्दिरमा कामाख्या भगवती मूर्तिको प्राणप्रतिष्ठा गरिएको छ’, उनले भने, ‘कामाख्या मन्दिरको सञ्चालन र यसको भेटीघाटीको व्यवस्थानलाई पारदर्शी बनाइएको छ। कामाख्या फाउन्डेसन स्थापना गरी यसैमार्फत खाता सञ्चालनको व्यवस्था गरिएको छ र यो मन्दिरको आम्दानीलाई यो आयोजनासँग नराखी संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च हुने व्यवस्था गरिएको छ।’ 

यस वसन्तपुरमा निर्माण भएका यी संरचना एवं मन्दिर नेपालको मात्र नभएर भारतका उत्तर प्रदेश र बिहार राज्यको झन्डै ३५ करोड नागरिकको पनि आकर्षक गन्तव्य बन्ने ढकालको विश्वास छ। ‘गर्मी याममा अहिले पनि भारतमा ‘गर्मीसे बेहाल चलो नेपाल’ अभियान चलाउने गरेको पाइन्छ। भोलिका दिनमा यो अभियानको उत्कृष्ट गन्तव्य वसन्तपुर डाँडा बन्छ भन्ने पनि हामीलाई विश्वास छ’, उनले भने, ‘मैले नेपालको निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका हैसियतले पनि म केही कुरा राख्न चाहन्छु।’