काठमाण्डौ । प्रहरीले देशका सबै चिकित्सकहरुको शैक्षिक प्रमाणपत्र छानबिन गर्ने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबीं), नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषद् मिलेर सबैको प्रमाणपत्र छानबिन थालिएको हो ।

धेरै चिकित्सकहरुले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा एमबीबीएस पढ्ने गरेको खुलेपछि सबैको अनुसन्धान अघि बढाइएको छ । नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका सबै चिकित्सकको एसएलसी, प्लसटु/आईएस्सी र एमबीबीएस प्रमाणपत्र प्रहरीले लिएको छ ।

प्रारम्भिक अनुसन्धानका करिब ३ हजारको कुनै न कुनै तहको प्रमाणपत्र नक्कली रहेको अनुमान अनुसन्धानकर्ताहरुको छ । स्रोतका अनुसार छानबिन गरिएका करिब ५ सयमध्ये एक सय ४० जनाको नक्कली भएको पुष्टि भइसकेको छ । नेपालका करिब १६ हजार चिकित्सक छन् । उनीहरु सबैको शैक्षिक प्रमाणपत्रको विवरण लिएर अनुसन्धान अघि बढाइएको सिआईबीका प्रमुख डिआईजी नवराज सिलवालले बताए । हालसम्म १७ जना पक्राउ परीसकेका छन् ।

धेरैले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा विदेशमा एमबिबिएस पढेको र भाडाका परीक्षार्थी प्रयोग गरी चिकित्सक दर्ता परीक्षा उत्तीर्ण गरेको पाइएको अनुसन्धानमा आबद्ध अधिकारीले बताएका छन् ।

सिआइबीले १७ जनालाई पक्राउ गरेकोमा १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । तीनजनाविरुद्ध मुद्दा दायरको प्रक्रिया अघि बढेको सिआइबीले जनाएको छ । विनिता यादव, राजीवकुमार झा र पृथ्वीनारायण यादवविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको सिआइबीका एसपी तारिणी लम्सालले बताए ।

मुद्दा दायर गरिएका १४ मध्ये १३ जना सामान्य धरौटीमा छुटेका छन् । सुजितकुमार श्रेष्ठलाई भने सिआइबीले ३० लाख ६२ हजार आठ सय रुपैयाँ बिगोसहित मुद्दा चलाएकोमा उनी धरौटी तिर्न नसक्दा जेल चलान भएका थिए । श्रेष्ठले सरकारी अस्पतालमा काम गर्दा लिएको तलबलाई बिगो बनाई सिआइबीले मुद्दा चलाएको थियो । पक्राउ परेका १२ जना ३० हजार तथा एकजना ४५ हजार रुपैयाँ धरौटीमै छुटिसकेका छन् ।

अनुसन्धानको क्रममा धेरै चिकित्सकको प्रमाणपत्र नक्कली पाइएको र छानबिन भइरहेको सिआइबीका डिआइजी नवराज सिलवालले बताए । प्रहरीले चिकित्सक दर्ता परीक्षामा धेरैपटक फेल भएका र विदेशबाट एमबिबिएस पढेकाहरूलाई प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाएको छ ।

सिआइबीले झापाको बिएनसी अस्पतालका रामबाबु गिरी, विराटनगरस्थित गोल्डेन अस्पतालका मो. कमरुल हक, कोसी अञ्चल अस्पतालका तुलसीकुमार महतो, ग्लोबल अस्पताल सिरहाका मो. अहमद सिद्धिकी, जनकपुर अञ्चल अस्पतालका सन्तोषकुमार यादवलाई पक्राउ गरेको थियो । त्यस्तै, चानसी मेडिकल हल जनकपुरका कल्याण विश्वास, कलेज अफ मेडिकल साइन्स भरतपुरकी विनिता यादव, अजित मेडिकल हल जनकपुरका भगवान केवट मल्लाह, रामजानकी डेन्टल क्लिनिकका शैलेन्द्रकुमार महतो, स्वास्थ्य सेवा क्लिनिक कपिलवस्तुका अफजल हुसैन, ग्लोबल अस्पताल ग्वार्काेमा कार्यरत श्यामबाबु साह, सगरमाथा अञ्चल अस्पतालमा कार्यरत राजेन्द्रप्रसाद दास र पशुपति मोडल हस्पिटल एन्ड रिसर्च सेन्टरका डा. पशुपति चौधरीलाई प्रहरीले पक्राउ गरिसकेको छ । मेडिकल काउन्सिल ऐनअनुसार यस्तो अपराधमा थुनामा राखेर अनुसन्धान गर्न नमिल्ने भएकाले उनीहरूलाई तारेखमा राखेर सिआइबीले अनुसन्धान गरेको थियो । ०२० सालमा बनेको मेडिकल काउन्सिल ऐनमा सामान्य मात्र कारबाहीको प्रावधान भएकाले नक्कली चिकित्सकले उन्मुक्ति पाउने सम्भावना देखिएको छ ।

-स्वास्थ्यखबर