काठमाण्डौ । इभेन्ट्स एण्ड भेन्यू एशोसिएसन अफ नेपाल अर्थात पार्टी प्यालेस तथा क्याटरिङ संघ नेपाल(इभा नेपाल)ले २५ जनाभन्दा बढी मानिस जम्मा हुने कुनै पनि कार्यक्रम नगर्न नगराउन देशभरका पार्टी प्यालेसन तथा क्याटरिङलाई आह्वान गरेको छ । 

इभा नेपालले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको खतरा बढी मानिस जम्मा हुने क्षेत्रमा बढी हुने भएको र सरकारले यसको रोकथामका लागि २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएकोले सरकारको सो अभियानमा साथ दिन देशभरका पार्टी प्यालेस तथा क्याटरिङ संचालन गर्ने व्यवसायीले साथ दिनुपर्नेमा जोड दिएको छ । 

'आम मानिसको जन्मदेखि मृत्युसम्मको विभिन्न सामाजिक कार्यहरु गर्ने थलोको रुपमा रहेका पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय पूर्ण रुपमा व्यवसायिक रुपमा मात्र नहेरी देश एवम् आम नागरिकप्रति सामाजिक उत्तरदायीत्व वहन गर्ने क्रममा विगतदेखि नै आफ्नो भूमिका निर्वाह गर्दै आएको सर्वविदितै छ ।' विज्ञप्तिमा भनिएको छ-'अहिलेको यस विषम परिस्थितिमा पनि यस इभा नेपाल र यससँग आबद्ध सदस्यहरुबाट आ आफ्ना क्षेत्रबाट आम नागरिकलाई सक्दो सहयोग गर्नुहुनेछ किनकि यस किसिमको संक्रमणलाई रोक्न सबैको महत्वपूर्ण भूमिका आवश्यक पर्छ ।' 

इभा नेपालले आफूसँग सम्बद्ध व्यवसायीहरुलाई कोरोना संक्रमणको विषयमा पर्याप्त जनचेतना फैलाउने काममा कटिबद्ध भएर लाग्न समेत आग्रह गरेको छ ।