काठमाण्डौ । वायुसेवा सञ्चालक संघ नेपालले भोलि (बुधबार) देखि देशभरि हवाई सेवा बन्द गर्ने निर्णय गरेको छ।
सरकारले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरले राति काठमाण्डौबाहिर तोकिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने भनी गरेको निर्णयको विरोधमा संघले भोलिदेखि हवाई सेवा बन्द घोषणा गरेको हो। काठमाण्डौमा आज पत्रकार सम्मेलन गर्दै संघले भोलिबाट संघमा आबद्ध जहाज र हेलिकप्टर सेवा बन्द रहने जानकारी गराएको छ।
सरकारले गरेको निर्णयमा बाध्यात्मक रुपमा संघमा आवद्ध सम्पूर्ण हेलिकप्टर तथा हवाई सेवा कम्पनीहरुले प्रदान गर्दै आएका आपतकालीन उद्धारलगायत नियमित उडान भोलि (असार ८ गते)बाट स्थगित गरिएको जानकारी संघले दिएको छ।
सरकारले काठमाण्डौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयानको चाप बढ्दै गएको र क्षमताले धान्न नसकेकाले काठमाण्डौ बाहिरका विमानस्थलमा पार्किङका लागि आधार तोकिदिएको छ।
उडान सुरक्षालाई व्यवस्थित र सुदृढीकरण गर्न भन्दै आइतबार नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एयरलाइन्स र हेलिकप्टर कम्पनीहरुलाई तोकिएकै आधारबाट अनिवार्य उडान गर्नुपर्ने निर्णय गरेको थियो। हेलिकप्टरको हकमा आज मंगलबार र जहाजको हकमा असार १३ गतेबाट यो नियम लागू हुँदैछ।
प्राधिकरणका अनुसार हाल त्रिभुवन विमानस्थलमा ११ वटा हेलिकप्टर कम्पनीका ३० वटा हेलिकप्टरले उडान गरिरहेका छन्। यीमध्ये २० वटा हेलिकप्टर उपत्यकाबाहिरको विमानस्थलमा रात्रिकालीन पार्किङका लागि जानुपर्ने भएको छ।
विमानस्थलमा १७ वटा आन्तरिक जहाज राख्न सक्ने क्षमता छ। अहिले ३४ वटा जहाज पार्किङ भइरहेका छन्।
7 minutes ago
22 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago