काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाबबीच मर्जरको लहर चलिरहेको बेला देशमै पहिलोपटक दुई जलविद्युत कम्पनीबीच मर्जर हुने भएको छ । 

एकाघर समूह प्रोमोटर रहेका अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र अरुण कावेली पावर लिमिटेड एकापसमा मर्ज हुने भएका हुन् । 

अरुण कावेलीको बुधबार बसेको सञ्चालक समितिको बैठकले अरुण भ्यालीसँग मर्जरमा जाने निर्णय गरेको छ । यो निर्णयलाई आगामी असोज १ गते हुने कम्पनीको विशेष साधारणसभामा पेश गरिने र त्यहाँबाट पारित भए मर्जरको प्रक्रिया सुरु हुनेछ । मर्जरमा जाने अर्को पक्ष अरुण भ्यालीले चाहि यसअघिको साधारणसभाबाटै अन्य कम्पनीसँग मर्जर वा एक्वायरमा जाने निर्णय गरिसकेको छ । यही कारण समेत अरुण कावेलीको विशेष साधारणसभाबाट हुने निर्णयले मर्जरको मार्ग प्रशस्त गर्ने बताइएको छ । 

यी दुवै जलविद्युत कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने रहेका छन् । उनलाई नेपालमा सबैभन्दा धेरै जलविद्युत उत्पादन गर्ने निजी क्षेत्रका प्रवद्र्धकको रुपमा चिनिन्छ । कतिपयले आफूले नेतृत्व गरेको संस्थामा रहेको मनपरी, आर्थिक अपारदर्शितालाई  छोप्न मर्जरको बाटो रोजिएको टिप्पणी गरे पनि न्यौपानेले चाहि आर्थिक रुपमा मजबुत कम्पनी जन्माउने उद्देश्यले  मर्जको बाटो रोजिएको बताएका छन् । उनका अनुसार मर्जरपछि कम्पनीको नाम अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेड राखिनेछ । 

यी दुई जलविद्युत कम्पनीका संचालकबीच सेयर स्वाप रेसियोको बिषयमा सहमति भइसकेको छ । स्रोतका अनुसार दुई संस्थाबीच एक बराबर एकको स्वाप रेसियो निर्धारण हुने कुरामा प्रोमोटर सहमत छन् । 

हाल अरुण भ्यालीको चुक्ता पुँजी ७७ करोड रहेको छ भने अरुण कावेलीको चुक्ता पुँजी १५० करोड रहेको छ । अरुण भ्यालीले यसअघि नै १० प्रतिशत बोनस सेयर दिने निर्णय गरिसकेको छ । मर्जरपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ३० करोड पुग्नेछ ।

अरुण भ्यालीले संखुवासभास्थित पिलुवा खोलाबाट ३ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ । उता, अरुण कावेली ताप्लेजुङमा २५ मेगावाट उत्पादन क्षमताको कावेली बी–१ आयोजना निर्माण थाल्ने तयारीमा छन् । 

यी दुई संस्थाबीच सफल मर्जर  भएपछि साना पूँजीका अन्य कमजोर जलविद्युत कम्पनी पनि मर्जर वा एक्वीजिसनका लागि आकर्षित हुने र यसले जलविद्युतमा संगठित र ठूलो लगानी जुट्न सक्ने विश्लेषकहरुले बताएका छन् ।