काठमाण्डौ । आर्थिक वर्षको अन्तिम दिनहरुमा बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम दैनिकजसो बढिरहेको छ । निक्षेप दैनिक बढिरहँदा बैंकहरुको कर्जा निक्षेप अनुपात(सीडी रेसियो) पनि दैनिकजसो नै घट्न थालेको छ । 

पछिल्लोपटक आइतबार बैंकिङ प्रणालीमा ९ अर्ब निक्षेप बढेको छ । नेपाल राष्ट्रबैंकका अनुसार योसँगै कुल निक्षेप ५० खर्ब २९ अर्ब पुगेको छ । यसको एकदिनअघि प्रणालीमा एकैदिन १५ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो। निक्षेप थपिने क्रम बढ्न थालेपछि बैंकहरुको पछिल्लो सीडी रेसियो पनि ८८.६३ प्रतिशतमा झरेको छ । अघिल्लो दिन ८८.८१ प्रतिशतमा थियो । 

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असार १९ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ९ अर्ब रुपैयाँले बढेको हो। 

गत असार १७ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब २० अर्ब रुपैयाँ रहेको थियो।

यसैगरी यो एक दिनमा वाणिज्य बैंकहरुको निक्षेप पनि ८ अर्ब रुपैयाँले बढेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ। गत असार १७ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ३२ अर्ब रुपैयाँ रहेको थियो।

असार १९ मा बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी २ अर्ब रुपैयाँले घटेको छ । असार १७ गते अघिल्लो दिनको तुलनामा ३ अर्बले घटेको थियो । असार १९ गतेसम्म वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४७ खर्ब ६ अर्ब रुपैयाँ रहेको छ । असार १७ गते ४७ खर्ब ८ अर्ब थियो । 

वाणिज्य बैंकहरुको कर्जा लगानी भने असार १९ गते २ अर्बले घटेर ४१ खर्ब ७६ अर्बमा झरेको छ । असार १७ गते ४१ खर्ब ७८ अर्ब रुपैयाँ रहेको थियो । 

बैंकहरुको अन्तरबैंक ब्याजदर असार १७ गते ७ प्रतिशत रहेकोमा बढेर ७.०१ प्रतिशत पुगेको छ । 

सरकारी धितोपत्रहरूको सुरक्षणमा केन्द्रीय बैंकले बैक तथा वित्तीय संस्थालाई अन्तिम ऋणदाता सुविधाको रुपमा प्रदान गरिने ऋणमा लिने ब्याजदरलाई बैंकदर भनिन्छ ।