काठमाण्डौ । यदि तपाईको उमेर २०, ३० वा बढीमा ४० वर्षसम्म छ र ६० देखि ६५ वर्षको उमेरमा रिटायर्ड हुन चाहनुहुन्छ भने अहिलेको समयले हिसाब गर्दा तपाईसँग १ देखि २ करोड रुपैयाँसम्म फण्ड भयो भने पनि कम हुनसक्छ । यदि रिटायर्ड लाइफमा योभन्दा बढी बचत गर्नुछ भने तपाईले सुरुवात गरिहाल्नुपर्छ । यो आर्टिकलमा तपाईले दैनिक ५०० रुपैयाँ जम्म गरेर रिटायर्ड लाइफमा कसरी करोड बढी रकम पाउन सक्नुहुन्छ भन्ने कुरा बुझाउन खोजिएको छ । 

कति गर्ने लगानी ?
कतिपय मध्यमवर्गीय परिवारका लागि महिनाको १५ हजार रुपैयाँ बचत गर्नु चुनौतिपूर्ण हुनसक्छ । तर, यदि तपाई आफ्नो भविष्य सुखद बनाउन चाहनुहुन्छ भने वर्तमानमा तपाईको मासिक आयको कम्तीमा २० देखि ३० प्रतिशत बचत गर्नुपर्ने हुन्छ र त्यस्तो रकमलाई लगानी गर्नुपर्ने हुन्छ ।

बचतबाट तपाईको पैसा मात्र सुरक्षित हुन्छ, तर यस्तो बचतको लाभ पूर्ण रुपमा त्यतिबेला मात्र प्राप्त हुन्छ, जतिबेला तपाईले त्यसलाई सही ठाउँमा लगानी गर्नुहुनेछ । 

कहाँ लगानी गर्ने ?
लगानीका अनेकन विकल्पहरु छन् । यसको कुनै रामवाण खालको उपाय नै हुन्छ भन्ने चाहिँ हुँदैन । प्रत्येक व्यक्तिले आफ्नो आयु तथा जीवनको लक्ष्यमा ध्यान दिई सही लगानीको विकल्प रोज्नुपर्ने हुन्छ । तपाईले आफ्नो लक्ष्य कति वर्षमा पूरा गर्नुपर्ने सोच्नुहुन्छ, यो विषय पनि सोच्न आवश्यक छ ।

मानौं तपाईसँग एक वर्ष मात्र बाँकी छ तपाईसँग भएको पैसा सावधानीपूर्वक कुनै कम जोखिम भएको विकल्पमा लगानी गर्नुपर्ने हुन्छ, जस्तो मुद्धती खाता । नेपालमा जहाँ वार्षिक ८ देखि १० प्रतिशतसम्म रिटर्न पाइन्छ । तर, यदि तपाईसँग ५ देखि १० वर्ष समय छ भने राम्रा कम्पनीको राम्रो रिटर्न दिने ऋणपत्र तपाईको रोजाई बन्नसक्छ, जहाँ ८ देखि १० प्रतिशतसम्म रिटर्न पाउन सकिन्छ । तरलता टाइट भएको समयमा त यस्ता ऋणपत्रहरुमा १२ प्रतिशतसम्म रिटर्न पाइने अवसर आएको थियो । 

तर, यदि तपाई रिटायरमेन्ट जस्तो दीर्घकालीन लक्ष्यका लागि लगानी गरिरहनुभएको छ भने सेयर बजार, म्युचुअल फण्ड वा ऋणपत्र पनि राम्रो विकल्प हुनसक्छ । यस्तो विकल्पमा लगानी गर्नुहोस्, जहाँबाट वार्षिक १० देखि १२ प्रतिशत रिटर्न सुनिश्चित होस् । 

कति रिटर्न आउँछ ?
मानौं, तपाईसँग १५ वर्ष समय छ र यदि तपाई मासिक १५००० बचत गर्नुहुन्छ भने तपाईको लक्ष्य सहजै पूरा हुन संभव छ । यदि कुनै बैंकमा ६ प्रतिशत मात्र रिटर्न पाइने मुद्धती निक्षेपमा यो पैसा लगाउने हो भने पनि १५ वर्षमा तपाई ४४ लाख रुपैयाँ हाराहारीमा रकम बचाउन सक्नुहुन्छ । यदि तपाईले बचत रकमलाई केही बढी रिटर्न पाउने उपकरणमा लगानी गर्नुभयो र वार्षिक ८ प्रतिशत मात्र रिटर्न आयो भने पनि १५ वर्षमा तपाई ५२ लाख रुपैयाँ बचत गर्न सक्नुहुन्छ । यदि १२ प्रतिशतसम्म रिटर्न आउने उपकरणमा बचत गर्दै लगानी गर्ने हो भने मासिक १५ हजार बचत १५ वर्षमा ७५ लाख रुपैयाँको हुनेछ । 

समय अमूल्य छ
कुनै पनि लगानीमा त्यसमा पाइने ब्याजदरले विशेष अर्थ राख्छ । उति नै अर्थ राख्छ लगानीको अवधिले पनि । माथि उल्लेख गरिएको उदाहरणबाट पनि तपाईले यो कुरा हेर्न सक्नुहुन्छ । यदि तपाई मुद्धती निक्षेपमा १५ वर्षको साटो २० वर्षको रणनीति साथ बचत रकम राख्दै जानुभयो भने तपाईसँग ४९ लाखको ठाउँमा ७० लाख रुपैयाँ बचत गर्न सक्नुहुन्छ । यसैगरी, १५ वर्षभन्दा लामो अवधिका बचत रणनीतिमा माथि उल्लेख गरिएका अन्य विकल्पमा जानु भयो भने बचत रकम अझै बढ्दै जानेछ । 

यसैगरी, अहिले तपाईसँग मासिक १५ हजार बचत गर्ने मात्र क्षमता छ भने भोलिका दिनमा यो क्षमता अझै बढ्न सक्छ । त्यस्तो अवस्थामा बचत गर्ने रकमको आकार पनि बढाउनुस् । यदि तपाईको आम्दानी प्रत्येक वर्ष १० प्रतिशतले बढ्छ भने बचत रकमलाई पनि १० प्रतिशतले बढाउन सक्नुहुन्छ । यसबाट तपाईले आर्थिक लक्ष्य सहजै ढंगले पूरा गर्न सक्नुहुन्छ । ६ प्रतिशत मात्र रिटर्न पाइने मुद्धती निक्षेपमा २० वर्षका लागि लगानी गर्नुभयो भने तपाईसँग २० वर्षपछि १.६५ करोड रुपैयाँ हुनेछ । ८ प्रतिशत रिटर्न आउने विकल्पमा लगानी गर्नुभयो भने २० वर्षमा १.९९ करोड र १० प्रतिशतसम्म रिटर्न आउने उपकरणमा लगानी गर्नुभयो भने २० वर्षपछि तपाईसँग ३ करोड बढी रकम बचत भइसक्नेछ ।