काठमाण्डौ । हालै ग्लोबल बर्डन अफ डिजिज–२०१९ नामक एक अध्ययन प्रतिवेदन सार्वजनिक भयो । यो प्रतिवेदन सार्वजनिक भएपछि इजरायली जनता निकै खुसी भए ।

यो अध्ययन प्रतिवेदनमा विश्वका १९५ देशको स्वास्थ्य आँकडालाई समावेश गरिएको थियो । यसले इजरायल त्यस्तो देश रहेको देखियो जहाँका खानपानका कारण ज्यान जाने दर निकै कम देखियो । त्यसपछि विश्वभरका स्वास्थ्यसँग सम्बन्धित मिडियाहरुले इजरायली जनताजस्तै खानपान गर्न अन्य देशका मानिसलाई प्रोत्साहन गरे । तर यस्तो हो भने अब विश्वभरका मानिसले यसअघिको तुलनामा बढी चिनीको उपभोग गर्नुपर्ने हुन्छ ।

सन् २०१८ मा इजरायलमा वार्षिक प्रतिव्यक्ति चिनीको खपत ६० किलोग्रामभन्दा बढी थियो । अर्थात् एक व्यक्तिले दैनिक औसत १६५ ग्राम चिनी खान्थे । जुन विश्वकै सबैभन्दा बढी खपत रहेको इन्टरनेसनल सुगर अर्गनाइजेसनको आँकडाले देखाएको छ ।

इजरायल नेसनल काउन्सिल अफ डायबिटिजका प्रमुख प्रोफेसर इटामार राजका अनुसार वयस्क इजरायली जनताले हरेक दिन ३० चम्चाभन्दा बढी चिनी खान्छन् । ‘जुन स्वास्थ्यका लागि निकै भयानक हो’, उनी भन्छन्।

विश्वभर सबैभन्दा बढी चिनी उपभोग गर्ने पाँच देशहरुमा इजरायल, मलेसिया, बारबेडोस, फिजी र ब्राजिल पर्छन् । त्यस्तै सबैभन्दा कम चिनी उपभोग गर्नेमा उत्तर कोरिया पर्छ । त्यहाँको प्रतिव्यक्ति वार्षिक चिनी खपत ३.५ किलोग्राम छ। त्यस्तै दक्षिण कोरिया ३०.६ किलोग्राम र अमेरिका ३१.१ किलोग्राम रहेको छ ।

यद्यपि सबैभन्दा बढी चिनी खपत गर्ने देशमा भारत रहेको छ । यहाँ वार्षिक २५.३९ मिलियन मेट्रिक टन चिनी खपत हुन्छ । जुन युरोपियन युनियनका सबै देशमा खपत हुने चिनी कुल आँकडाभन्दा बढी हो ।

त्यसो त विश्वभर चिनीको उपभोग बढ्दै गएको पाइएको छ । इन्टरनेसनल सुगर अर्गनाइजेसनका अनुसार सन् २००१ सम्म विश्वभर चिनीको खपत १२३.४ मिलियन मेट्रिकटन थियो । सन् २०१८ सम्म आउँदा त्यो बढेर १७२.४ मिलियन मेट्रिकटन पुगेको छ । यो हिसाबले अहिले विश्वभर वार्षिक प्रतिव्यक्ति चिनीको खपत २२.६ किलोग्रामको आसपास हुन आउँछ ।

चिनीको खपत बढ्नुमा एउटा परम्परागत खानपान र अर्को शरीरलाई आवश्यक ऊर्जाको स्रोत पूर्ति गर्न चिनी निकै सस्तो र सुलभ तरिका भएकै कारण पनि हो ।

सन् २०१५ मा विश्व स्वास्थ्य संगठनले चिनी कम उपभोग गर्न सचेत गराएको थियो । चिनी बढ्दो उपभोगले मोटोपन, डायबटिजजस्ता विभिन्न रोग देखिन थालेपछि विश्व स्वास्थ्य संगठनले कम उपभोग गर्न सचेत गराएको थियो ।

उता इजरायली जनताको चिनी उपभोग आँकडा डरलाग्दो देखिए पनि उनीहरुको स्वास्थ्य अनुकूल हुनुबारे भने अध्ययन प्रतिवेदनले खासै निष्कर्ष निकालेको भने छैन । –एजेन्सी