– रेखा चन्द

काठमाण्डौ । चालु आर्थिक वर्षबाट बैंकमा निक्षेप बढ्ने आँकलन गरिएको थियो। तर, साउनको सुरुबाटै बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता)को चरम अभाव देखियो। त्यो क्रम साउन महिना सकिन लाग्दा पनि जारी नै छ। 

यसैबीच बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलनलाई टार्गेट गरी डब्बल, तेब्बर, चौबरहुँदै १० गुणासम्म प्रतिफल दिने योजना धमाधम सार्वजनिक गरिरहेका छन्। गत आर्थिक वर्षमा केही बैंकले मात्रै यस्ता योजना सार्वजनिक गरेका थिए। अहिले यस्ता योजना सार्वजनिक गर्ने बैंक तथा वित्तीय संस्थाहरु बढेका छन्। यसले पनि प्रस्ट बुझिन्छ कि बैंकहरु निक्षेप तान्नका लागि यस्ता योजना ल्याएर सर्वसाधारणलाई आकर्षित गरिरहेका छन्।

नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को तथ्यांकअनुसार साउन महिना लागेयता वाणिज्य बैंकहरुको ९५ अर्ब रुपैयाँले घटेको छ। जसमा वाणिज्य बैंकको कुल निक्षेप घटेर ४४ खर्ब ४६ अर्ब रुपैयाँमा सीमित रहेको छ। 

यसका साथै बैंक तथा वित्तीय संस्थाहरुले ल्याएका आकर्षक प्रतिफलसहितका खाताहरु खोल्दा ग्राहकलाई पनि फाइदा नै पुुग्ने देखिन्छ। बैंकहरुले ग्राहकलाई तोकेको समयमा लगानी गरेको रकमको १० गुणासम्म रकम दिनेछन्। 

वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले सर्वसाधारणबाट निक्षेप उठाउने होडबाजीसहित कोभन्दा को कम भन्ने उद्देश्यसहित यस्ता योजनामा प्रतिस्पर्धा गरिरहेका देखिन्छन्।

कसले कस्ता योजना ल्याए ?

एनआईसी एशिया बैंक

यो बैंकले १० गुणासम्म रकम फिर्ता हुने गरी सर्वाधिक उच्च ब्याजदरसहितको ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दति योजना’ ल्याएको छ। बैंकका ग्राहकले ५ वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्म मुद्दति खातामा रकम जम्मा गरेअनुुसार डबलदेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन्। यस्तै निक्षेपकताले ८० प्रतिशत बराबर रकम कर्जासमेत लिन सक्ने व्यवस्था रहेको छ। 

ग्लोबल आइएमई बैंक

बैंकले ग्राहकको मुद्दति निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोहीअनुसार बनाउन सकिने ‘ग्लोबल आइएमई चक्रवर्ती मुद्दति योजना’ ल्याएको छ। यो मुद्दति निक्षेप खाता सञ्चालनका लागि न्यूनतम मौज्दात १० हजार रहेको छ। 

एनसीसी बैंक

‘एनसीसी प्रफुल्ल मुद्दति खाता’अन्तर्गत एनसीसी बैंकले निक्षेप रकमको १० गुणासम्म रकम दिनेछ। यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिनदेखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिनदेखि २४ वर्ष ११ महिना २ दिनसम्म मुद्दति खातामा रकम जम्मा गरे अनुसार दोब्बरदेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन्। यसका साथै पहिलो वर्षका लागि ५ लाखसम्मको दुर्घटना बीमा र २ लाखसम्मको घातक रोग बीमा सुविधासमेत उपलब्ध रहेको बैंकले जनाएको छ। 

नेपाल बैंक 

बैंकले नेपाल बैंक डबल धमाका मुद्दति खाता सञ्चालनमा ल्याएको छ। व्यक्तिले यो मुद्दति खातामा लगानी गरेको रकम ६ वर्ष ४ महिना २० दिनमा दुईगुणा हुनेछ भने संस्थाको हकमा ७ वर्ष ३ महिनामा मुद्दतिको रकम दुईगुणा हुनेछ। रेमिट्यान्सबाट प्राप्त रकम यो मुद्दति खातामा लगानी गर्दा ६ वर्ष ११ महिना २ दिनमा दुई गुणा हुने बैंकले जनाएको छ। यो खाता खोल्ने ग्राहकहरुले ५ लाखसम्मको क्रेडिट कार्ड सुविधालगायत अन्य आकर्षक सुविधाहरु पनि प्राप्त गर्नेछन्।

राष्ट्रिय वाणिज्य बैंक

यो बैंकले फुल डबल मुद्दति खातामा लगानी गरेको रकम ६ वर्ष ७ महिना २३ दिनमा दुई गुणा हुने जनाएको छ। सो अवधिको अन्त्यमा बैंकले कुनै पनि शुल्क कट्टी नगरी ग्राहकलाई पूरा दोब्बर रकम भुक्तानी गर्नेछ। यो योजनामा ग्राहकले कुल जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सक्ने सुविधा पनि लिन सक्नेछन्। यस्तै ग्राहकले लकर सेवामा सतप्रतिशत र क्रेडिट कार्ड सुविधामा ५० प्रतिशत छुट पाउनेछन्। 

सानिमा बैंक

सानिमा बैंकले ‘सानिमा डबल धमाका मुद्दति खाता’ सार्वजनिक गरेको हो। ग्राहकले न्यूनतम ५ लाखको मुद्दति खोल्न सक्नेछन् भने उक्त रकम साढे ६ वर्षमा दोब्बर भएर सतप्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन्। मुद्दति निक्षेप रकम परिपक्वतापश्चात दोब्बर भई भुक्तानी गरिनेछ। प्रतिफलमा लाग्ने कर रकम भने ग्राहक स्वयंले व्यहोर्नुपर्नेछ। 

माछापुच्छ्रे बैंक

बैंकले साढे ६ वर्षमा ग्राहकले जम्मा गरेको रकम दुईगुना (डबल रकम) हुनेगरी ‘स्मार्ट मुद्दति खाता’ सञ्चालनमा ल्याएको छ। यसमा न्यूनतम ५० हजारबाट रकम राख्न सकिनेछ भने साँवा रकमको ९० प्रतिशतसम्म ऋण ग्राहकलाई प्रदान गरिनेछ। ग्राहकले बैंकका देशभर रहेका १६५ शाखाबाट यो खाता खोल्न सक्नेछन्।

एनएमबि बैंक

यो बैंकले ७६ महिना अर्थात ६ वर्ष ४ महिनापछि रकम डबल हुने गरी ‘एनएमबि डबल मुद्दति’ योजना ल्याएको भने ७० महिना वा ५ वर्ष १० महिनामा राखेको रकम दोब्बर हुनेगरी ‘एनएमबि जन्मभूमि डबल मुद्दति’ योजना ल्याएको छ। ग्राहकले ‘एनएमबि डबल मुद्दति योजना’अन्तर्गत न्यूनतम मौज्दात ५० हजार वा सोभन्दा बढी रकम राख्न सक्नेछन्। बैंकका ग्राहकले आफ्नो मुद्दति रकमको ९० प्रतिशतसम्म क्रेडिट कार्ड सुविधा र उक्त कार्ड जारी गर्दा शुल्क नलाग्नुका साथै मुद्दति रसिद धितोमा पनि ८० प्रतिशतसम्म कर्जा पाउन सक्नेछन्। 

कुमारी बैंक

कुमारीले १० गुणासम्मको प्रतिफल दिने विभिन्न निक्षेप मुद्दति योजनाहरु ल्याएको छ। बैंकले २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणासम्मको प्रतिफल दिने योजना ल्याएको हो। व्यक्तिगत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ५.९० वर्ष, १०.२१ वर्ष, १२.९४ वर्ष र २१.६३ वर्षको अवधिमा प्राप्त गर्नेछन्। 

यस्तै संस्थागत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ७.२५ वर्ष, ११.७१ वर्ष, १४.९२ वर्ष र २५.४० वर्षको अवधिमा प्राप्त गर्नेछन्। 

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले १० गुणासम्म प्रतिफल प्राप्त हुने ‘सिद्धार्थ श्रीवृद्धि मुद्दति खाता’ सञ्चालनमा ल्याएको छ। बैंकले व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यान्स ग्राहकलाई लक्षित गरी ल्याइएको यस मुद्दति खातामा न्यूनतम १० हजारसम्म जम्मा गरी खाता खोल्न सकिने व्यवस्था रहेको छ। बैंकका अनुसार ग्राहकले आफ्नो साँवा रकमको २ गुणादेखि १० गुणासम्मको प्रतिफल प्राप्त गर्न सक्नेछन्। यस्तै आफ्नो साँवा रकमको ९० प्रतिशतसम्मको कर्जा सुविधा पाउनुका साथै १०० प्रतिशतसम्मको क्रेडिट कार्ड सुविधासमेत ग्राहकले प्राप्त गर्न सक्छन्।

सेञ्चुरी कमर्सियल बैंक

ग्राहकको हितलाई ध्यानमा राखेर यस बैंकले सेञ्चुरी डबल धमाका मुद्दति खाता सञ्चालनमा ल्याएको छ। यस खातामा ग्राहकले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन्। सेञ्चुरी डबल धमाका मुद्दति खाता न्यूनतम १० रुपैयाँमा नै खोल्न सकिनेछ। यसका साथै यस खातामा साँवा रकमको ८० प्रतिशतसम्म ऋणपनि लिन सकिनेछ। यो खाता बैंकका सम्पूर्ण शाखाहरुबाट खोल्न सकिनेछ।

बैंक अफ काठमाण्डू

बैंकले ‘बीओके सुपर बचत खाता’मा बचत रकमको २ गुणादेखि अधिकतम ४ गुणासम्म प्रतिफल दिनेगरी योजना ल्याएको हो। ‘बीओके सुपर मुद्दतिमा लगानी, भविष्यका लागि सुरक्षित आम्दानी’ नारासहित बैंकले ६ वर्ष ५ महिनामा निक्षेपको २ गुणदेखि १३ वर्षमा निक्षेपको चारगुणासम्मको प्रतिफल योजना ल्याएको हो। यस्तो प्रतिफल प्रतिशतमा नभएर अब कुल निक्षेपको चारगुणा पाइने बैंकले जनाएको छ। 

खासगरी बीओके सुपर मुद्दति खातामा तीन किसिमको योजना ल्याएको बैंकले ६ वर्ष ५ महिनामा दुईगुणा, १० वर्ष ३ महिनामा तीनगुणा र १३ वर्षको मुद्दति निक्षेपमा अधिकतम चारगुणासम्म प्रतिफल दिने जनाएको छ। यद्यपि, यस्तो निक्षेपका लागि निक्षेपकर्ताले न्यूनतम ५० हजार रुपैयाँ खातामा राख्नुपर्नेछ।

नेपाल एसबिआई बैंक

यो बैंकले धनवृद्धि योजनाअन्तर्गत ग्राहकले जम्मा गरेको रकम ६ वर्ष ६ महिनामा दुई गुणा तथा १० वर्ष ३ महिनामा ३ गुणाभन्दा बढी प्रतिफल दिने मुद्दति खाता सञ्चालनमा ल्याएको छ। बैंकका अनुसार उक्त खातामा ब्याज साँवामा पुँजीकृत हुँदै परिपक्वतापश्चात एकमुष्ट रकम भुक्तानी हुनेछ। बैंकले ग्राहकलाई खातामा रहेको साँवा रकमको ९० प्रतिशतसम्म ऋण दिन सक्ने जानकारी दिएको छ।
यसका साथै संस्थाको हकमा जम्मा गरेको रकम ७ वर्षमा दुईगुणा तथा ११ वर्ष ३ महिनामा ३ गुणा हुने बैंकले जनाएको छ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले प्राइम धनवृद्धि मुद्दति खाता (व्यक्तिगत), प्राइम धनवृद्धि रेमिट मुद्दति खाता (व्यक्तिगत) तथा प्राइम धनवृद्धि संस्थागत मुद्दति खाता सञ्चालनमा ल्याएको छ। बैंकका अनुसार प्राइम धनवृद्धि मुद्दति खातामा जम्मा गरेको रकम २१ वर्ष ७ महिना २० दिन, प्राइम धनवृद्धि रेमिट मुद्दति खातामा जम्मा गरेको रकम १९ वर्ष १० महिना ७ दिन तथा प्राइम धनवृद्धि संस्थागत मुद्दति खातामा २६ वर्ष ६ महिना ३ दिनमा दश गुणा बढी पाइनेछ। 

यस्तै प्राइम धनवृद्धि मुद्दति खाता (व्यक्तिगत) र प्राइम धनवृद्धि रेमिट मुद्दति खाता (व्यक्तिगत) का निक्षेपकर्ताले १८ घातक रोगकविरुद्ध बीमा १० लाख, दुर्घटना बीमा १० लाख तथा स्वास्थ्य बीमा १ लाखसम्म प्राप्त गर्न सक्नेछन् भने आवश्यकताअनुसार ९० प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्नेछन्।

महालक्ष्मी विकास बैंक

यो बैंकले १० हजारमै मुद्दति खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दति खाता’ ल्याएको छ। बैंकले यस अन्तर्गत ७० महिनामै मुद्दति रकमको दुईगुणा रकम भुक्तानी गरिने गर्नेछ। ग्राहकले बैंकका देशैभर छरिएर रहेका १०३ शाखामार्फत यो खाता खोल्न सक्नेछन्।

मुक्तिनाथ बैंक विकास

मुक्तिनाथ विकास बैंकले रेमिट्यान्स व्यक्तिगत मुद्दति खातामा उच्चतम १३ प्रतिशते वार्षिक ब्याजदर र व्यक्तिगत मुद्दति खातामा १२ प्रतिशत वार्षिक ब्याजदर प्रदान गरेको थियो। बैंकमा न्यूनतम ५ हजारको मुद्दति खाता खोल्न सकिने र अवधि भने न्यूनतम ३ महिना देखि १५ वर्षसम्म ग्राहकले रोज्न सक्ने बैंकले जनाएको छ। यो खाताबाट बचत गर्न चाहने ग्राहकलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास बैंकले लिएको छ। यद्यपि बैंकले सो योजना जेठ महिनाका लागिमात्रै भएको जनाएको थियो।

ज्योति विकास बैंक

‘ज्योति दुई गुणा डिपोजिट’ मुद्दति योजनाअन्तर्गत ग्राहकले ५ वर्ष ११ महिनामै जम्मा गरेको रकमको दुईगुणा रकम प्राप्त गर्न सक्नेछन्। व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस मुद्दति खातामा न्यूनतम १० हजार जम्मा गरि खाता खोल्न सकिन्छ। 
यसका साथै यो खातामा ग्राहकलाई रकम आवश्यक परेमा साँवा रकमको ९० प्रतिशतसम्म ऋण सुविधा पनि रहेका बैंकले जनाएको छ।

समृद्धि फाइनान्स

समृद्धि फाइनान्सले रकम आठगुणासम्म हुने निक्षेप योजना सार्वजनिक गरेको छ। मुद्दति निक्षेपको योजनाअन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने, १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठगुणा हुने निक्षेप योजना यसले ल्याएको हो। ग्राहकले न्यूनतम ५० हजारदेखि नै खाता खोल्न सक्नेछन्।