काठमाण्डौ । दशैंअघिको तुलनामा दशैंविदा सकिएको पहिलो दिनमै बैंकिङ प्रणालीमा तरलता दोब्बरले बढेको छ । 

दशैंअघिसम्म प्रणालीमा २२ अर्ब रुपैयाँको हाराहारीमा अधिक तरलता थियो । दशैं विदा सकिएर बजार खुलेको पहिलो दिन अर्थात आइतबार साँझसम्म प्रणालीमा ४४ अर्ब रुपैयाँ अधिक तरलता देखिएको हो । 

नेपाल राष्ट्रबैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार दशैंअघि पनि प्रणालीमा तरलता संकट नभएको, बरु बैंकहरुले तरलता संकटको हौवा पिटेर ब्याजदर बढाउने बाहाना मात्र गरेका हुन्।

'दशैंपछि त झन तरलता दशैंअघिको भन्दा ठ्याक्कै दोब्बरले बढेको छ । अब पनि कुनै बैंकले तरलताको बाहानामा ब्याजदर बढाउन थाल्छ भने त्यो गलत हो ।' उनले भने-'बजारमा ४४ अर्ब अधिक तरलता हुनु भनेको निकै सहज अवस्था हो ।' 

'बैंकरहरुले तरलता टाइट भयो भन्ने, ब्याजदर बढाउने बाहाना अब बन्द गर्नुपर्छ । बजारमा अधिक तरलता छ ।' उनले थपे-'हिजो, आज र भोलि पनि नेपाल राष्ट्रबैंक प्रणालीमा तरलता अभाव हुन नदिन कटिबद्ध छ । हामीले तरलता सहज बनाउनका लागि कुनै पनि कसर बाँकी नराखी काम गरिरहेका छौं ।' 

अहिले वाणिज्य बैंकहरुको सीडी रेसियो टाइट अवस्थामा रहेको र अर्को असार मसान्तसम्म सीडी रेसियोमा क्याप लगाएका कारण त्यसलाई मेन्टेन गर्ने बाध्यता रहेको उनले सुनाए । 'त्यही भएर लोन विस्तार हुन नसकेको हो ।' उनले भने-'यसमा तरलता अभाव वा अरु कुनै बाहाना झिक्नुको अर्थ छैन ।' 

राष्ट्रबैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास बित्दासम्म तरलता सहज गर्न विभिन्न मौद्रिक औजारहरु प्रयोग गरेको उनले बताए । 'यो आबमा राष्ट्रबैंकले १०० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरिसकेको छ । ६०० अर्ब रुपैयाँ बराबरको एसएलएफको सुविधा दिइसकेको छ ।' उनले थपे-' ओभरनाइट रिपो पनि झण्डै १०० अर्ब रुपैयाँ हाराहारीमा जारी गरिसकेको छ । तरलता व्यवस्थापनमा राष्ट्रबैंकले कुनै कसर बाँकी राख्दैन, राखेको छैन ।'

कोरोनाकालको बेला बजारमा २२५ अर्ब अधिक तरलता रहँदा समेत आफूहरुले प्रशोचन नगरेको उदाहरण पेश गर्दै पोखरेलले भने-'त्यतिबेला हाम्रो चाहना ब्याजदर घटोस् र लगानीकर्ताले स्रोत पचिालन गरुन् भन्ने थियो । अघिल्लो मौद्रिक नीतिले २० प्रतिशतको क्रेडिट ग्रोथ अपेक्षा गरेको थियो, त्यत्रो तरलता कायम रहँदा प्रशोचन गरेनौं । इयर इण्डमा पुग्दा २७ प्रतिशतले क्रेडिट ग्रोथ भयो, हाम्रो अपेक्षाभन्दा बढी।' 

त्यसैलाई मत्थर पार्ने सोच अनुसार राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत निजी क्षेत्रमा प्रवाह हुने कर्जाको विस्तार १९ प्रतशित हुने प्रक्षेपण गरिएको समेत उनले सुनाए । 'यस्तो अवस्थामा एडेक्वेट(पर्याप्त) लेभलको तरलता कायम राख्न हामी कुनै पनि कोशिश बाँकी राख्दैनौ ।' उनले थपे-'राष्ट्रबैंकले तरलताको संकट हुन दिंदैन ।'