काठमाण्डौ । उपप्रधानमन्त्रीको बरियता विवादमा प्रधानमन्त्री पुुष्पकमल दाहालको बोल्ड निर्णयले अन्ततः उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सरकार छाड्नुुपर्ने अवस्था आएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूपछि दोस्रो बरियताको उपप्रधानमन्त्री संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापालाई बनाएपछि निधिले सरकारबाट राजीनामा दिने मूड बनाएका हुुन् । 

प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्रका नेताहरुको बालुवाटारमा बैठक डाकेर आफूले थापालाई दोस्रो वरियताको उपप्रधानमन्त्री बनाएको घोषणा गरेका थिए । 

निधिले भने संसदको ठूलो दलको तर्फबाट सरकारमा नेतृत्व आफूले गरेको दाबी गर्दै दोश्रो बरियता आफूले पाउनुुपर्ने तर्क गर्दै आएका थिए । निधि र थापाबीच दोश्रो बरियताको बिषयमा उठेको विवादका कारण लामो समयदेखि मन्त्रीपरिषद बैठक बस्न सकेको छैन । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणबाट चैत १६ गते स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा निधि र थापाबीचको बरियता विवाद अझ प्रष्ट बनेको थियो । बरियता विवादकै कारण प्रम दाहाल चीन भ्रमणमा जाँदा कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी कसैलाई नदिई हिँडेका थिए । दाहाल निकट स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवासँगको सहमतिमै थापालाई दोश्रो बरियता दिइएको हो । देउवाको समेत सहमतिमा प्रचण्डले यो काम गरेपछि कांग्रेसभित्रै समेत निधिले भाँडभैलो गर्ने संभावना बढेको छ । निधि भारतका प्यारा मानिन्छन् । तर, पछिल्लो समय गृहको बागडोर सम्हालेका उनको कामको बिषयमा देउवा तथा अधिकांश कांग्रेस नेता समेत सन्तुुष्ट छैनन् । 

यसैबीच, उपप्रधान तथा गृहमन्त्री निधिले आफूले क्याबिनेटमा दोश्रो बरियता नपाए राजीनामा दिने बताएका छन् । बिहीबार दिउँसो कांग्रेसका तर्फबाट सरकारमा सहभागी १४ जना मन्त्रीलाई गृह मन्त्रालयमा बोलाएर निधिले राजीनामा दिने घुर्की देखाएका हुुन् । उनको यो माग सम्बोधन नगरी प्रधानमन्त्री प्रचण्डले थापाको पक्षमा बोल्ड निर्णय गरेपछि अब उनले राजीनामा दिने हुुन् वा चूपचाप सरकारमै बसिरहने हुुन् भन्ने चाहि हेर्न बाँकी छ । निधि निकट स्रोतका अनुसार उनले शुक्रबार वा आइतबार राजीनामा दिने तयारी थालेका छन् । ‘एकपटक देउवा लगायतका नेतासँग उहाँले छलफल गर्न खोज्नुुभएको छ ।’ उनी निकट एक नेताले भने–‘निधिले देउवाबाट समेत धोका भएको बुुझेका छन्, यसले निर्वाचनको मुखमा कांग्रेसभित्र लफडा सुरु हुनसक्ने संभावना बढाएको छ ।’