काठमाण्डौ । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश सूचकमा प्रगति गर्दै आकर्षक वित्तीय विवरण सार्वजनिक गरेको छ।

आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म खुद नाफा गत वर्षको यही अवधिको तुलनासम्म ३९.८७ प्रतिशतले बढाउन सफल भएको छ। समीक्षा अवधिसम्म बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकको खुद नाफा १ अर्ब ८ करोड रुपैयाँ आर्जन गरेको थियो।

बैंकको वितरणयोग्य मुनाफा ९९ करोड ९८ लाख रुपैयाँ रहको छ। 

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा ४२.७३ प्रतिशतले बढेर २ अर्ब १४ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब ५० करोड रुपैयाँ रहेको थियो।

दोस्रो त्रैमाससम्म बैंकले २ अर्ब ६९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी २ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकले बैंकको निक्षेप संकलन र कर्जा प्रवाह पनि आक्रामक देखिएको छ। गत वर्ष यही अवधिमा १ खर्ब २८ अर्ब निक्षेप संकलन गरेकोमा यो वर्ष २५.८५ प्रतिशतले बढाएर १ खर्ब ६२ अर्ब रुपैयाँको उचाइमा पुर्याएको छ। त्यस्तै गत वर्ष ९९ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा यो वर्ष २६.८२ प्रतिशतले बढाएर १ खर्ब २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

दोस्रो त्रैमासमा बैंकको रिजर्भको आकार ८.५७ प्रतिशतले बढेर ४ अर्ब १८ करोड रुपैयाँको भएको छ। गत वर्ष रिजर्भमा ३ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो।

बैंकले खराब कर्जाको दर पनि ३३.९७ प्रतिशतले घटाएर २.०६ प्रतिशतमा सीमित पारेको छ। गत वर्ष खराब कर्जाको दर ३.१२ प्रतिशत थियो। बैंकको आधार दर ७.२४ प्रतिशत रहेको छ। 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २१.०५ रुपैयाँबाट बढेर २६.७७ रुपैयाँ पुगेको छ। पीई रेसियो १५.३२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४७.२९ रुपैयाँ रहेको छ।