काठमाण्डौ । काठमाण्डौका दोहोरी साँझ र रात्रीकालीन व्यवसायीले आइतबार प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई चाबी बुझाएका छन्। 

व्यवसायीहरुले काठमाण्डौका सीडीओलाई भेटेर आफूहरुको व्यवसाय सञ्चालन गर्न सरकारले चासो नदिएको भन्दै चाबी बुझाएका हुन्। अघोषित रुपमा अन्य सबैजसो व्यवसाय तथा क्षेत्र हाल चलायमान अवस्थामा रहेको उल्लेख गर्दै दोहोरी साँझ र रात्रिकालीन व्यवसायी सञ्चालन तथा व्यवस्थापन समितिद्वारा बुझाइएको सीडीओलाई बुझाइएको पत्रमा भनिएको छ, ‘तर हाम्रो यस रात्रीकालीन मनोरञ्जन व्यवसायलाई भने अझै पनि सरकारले कुनै चासो देखाएको पाइएन, त्यसैले आज हामी बाध्य भएर हाम्रो व्यवसाय तथा यस क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीको भविष्यको जिम्मा नै सरकारलाई सुम्पिनका लागि व्यवसायको चाबीसहित यहाँ उपस्थित भएका छौँ।’ 

व्यवसायीहरुले घरभाडा, व्यवसाय घर, बैंकको ऋणलगायतको आफूहरुको दायित्वको जिम्मा लिन पनि सीडीओलाई आग्रह गरेका छन्। यसका साथै सम्पूर्ण कलाकार र मजदुरको रोजगारीको ग्यारेन्टीसहित व्यवसायीको चाबी बुझिलिन उनीहरुले आग्रह गरेका छन्।

कोरोना महामारी फैलिएपछि सरकारले गत चैतमा सबै व्यवसाय र आवतजावत बन्द गर्ने गरी निषेधाज्ञा लगाएको थियो। तर विस्तार निषेधाज्ञा खुकुलो पार्दै अरु क्षेत्र खुल्न दिइए पनि दोहोरी साँझ र रात्रीकालीन व्यवसाय भने हालसम्म बन्द नै छन्।