काठमाण्डौ । सेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ।
बजार आज १६.२४ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९८५.४३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.४३ अंकले बढेर ३८१.१७ को विन्दुमा उक्लिएको छ। कारोबार रकम हिजो तुलनामा बढेर १ अर्ब १७ करोड रुपैयाँ बढीको भएको छ।
बजार जानकार केशव कोइराला (काका) हाइड्रो सेक्टर चम्किँदा बजार बढेको बताउँछन्। ‘बजारमा केही खेलाडीले हाइड्रोपावर गलत प्रचार गरेका थिए, जसका कारण धेरै हाइड्रोपावरको सेयरभाउ घटेको थियो’, उनले भने, ‘ती गलत प्रचारको भ्रमबाट लगानीकर्ता बाहिर आएका छन्। जसका कारण आज हाइड्रो चलेको देखिन्छ।’
बजारमा अहिले एकुमुलेसन चलिरहेको कोइराला बताउँछन्। ‘सेयर लोनमा १२ करोडको सीमा पनि हेरफेर हुँदै जाने भएकोले बजार अब माथि जाने सम्भावना छ’, उनले भने।
अर्का बजार जानकार दामोदर गजुरेल अर्थमन्त्रीको पहलमा हिजो धितोपत्र बोर्डका अध्यक्ष र राष्ट्र बैंकका गभर्नरबीच पुँजीबजार सुधारका विषयमा छलफल हुनुले पनि लगानीकर्ता मनोबल बढ्दा बजार बढेको बताउँछन्। ‘आज धेरै घटेका हाइड्रो कम्पनीहरुको सेयरभाउ बढ्दा पनि बजार बढेको हो’, उनले भने।
लाभांशको पनि सिजन रहेकोले बजार बढ्न टेवा पुगेको गजुरेलको भनाइ छ। ‘सबैतिर सकारात्मक पहल भइरहँदा अब केही सुधारको अपेक्षा गर्न सकिन्छ’, उनले भने।
यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ।
आज जलविद्युत समूह सर्वाधिक ३.२१ प्रतिशतले उकालो लागेको छ। वित्त समूह १.९५ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.३२ प्रतिशत, विकास बैंक समूहमा १.४८ प्रतिशत, लगानी समूहमा ०.७८ प्रतिशत, जीवन बीमा समूहमा ०.३७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.७४ प्रतिशत, लघुवित्त समूहमा ०.५१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.११ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.७६ प्रतिशत र अन्य समूहमा ०.११ प्रतिशतको बढोत्तरी भएको छ।
यो दिन व्यापार समूह ०.९३ प्रतिशतले घट्दा होटेल तथा पर्यटन समूहमा ०.०९ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २७२ कम्पनीका ४३ लाख ३६ हजार ५८३ कित्ता सेयर १ अर्ब १७ करोड ६६ लाख ८० हजार ७५७ रुपैयाँमा कारोबार भएका छन्।
यो दिन रिलायबल लाइफ इन्स्योरेन्सको सर्वाधिक १० करोड ६४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। ओरियन्टल होटेलको ४ करोड १० लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको ३ करोड ८५ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको २ करोड ५४ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ५१ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको २ करोड ३९ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सको २ करोड ३० लाख रुपैयाँ, सोल्टी होटेलको २ करोड २८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २ करोड १३ लाख रुपैयाँ र साल्ट ट्रेडिङको २ करोड ११ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ६ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। शुभम पावरको सेयरभाउमा १० प्रतिशत तथा थ्रीस्टार हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावर, बलेफी हाइड्रोपावर, अभियान लघुवित्त र पिपुल्स हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशत हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको छ।
यो दिन इमर्जिङ नेपालका सेयरधनीहरुले धेरै गुमाएका छन्। यो कम्पनीको सेयरभाउमा ८ प्रतिशत बढीको गिरावट आएको छ।
9 hours ago
19 hours ago
19 hours ago
21 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago