काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार बजारमा दोहोरो अंकले घटेको छ। 

आज बजार ५०.२८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २९२६.७४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.९ अंकले घटेर ५४१.७८ को विन्दुमा ओर्लेको छ भने कारोबार साढे ९ अर्ब बढीको भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार सेयर धितो कर्जाको सीमाको व्यवस्थाले केही दिनयता बजार प्रभावित भएको बताए। ‘यसको असर आज पनि देखियो, बजार घट्यो’, उनले भने।

रौनियार यद्यपि घट्दो बजारमा कारोबार पनि घटेकोले यसलाई करेक्सनका रुपमा लिनुपर्ने बताए। ‘बजार अन्य कारण प्रभावित भएको छैन, बजार छिटै फर्किन्छ’, उनले भने।

सेयर बजारप्रति सरकार सकारात्मक नै रहेको उल्लेख गर्दै छोटेलालले हालको सेयर धितो कर्जाका विषयमा अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्मले चासो राखेकोले यसमा केही न केही फेरबदल हुन सक्ने दाबी गरे। ‘यो व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरुलाई पनि असर गरेकोले यसमा परिमार्जन गर्न नियामकलाई दबाब पर्न सक्छ’, उनले भने, ‘किनकि सेयरमा ९५ अर्ब रुपैयाँमात्र ऋण आएको छ, यसले उत्पादन तथा व्यापारलाई प्रभाव पारेकोजस्तो देखिँदैन।’ 

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाट बजार बुलिस ट्रेन्डमै रहेकोले डराइहाल्नुपर्ने अवस्था नरहेको बताए। ‘बजारमा अहिले १० प्रतिशतमात्रै गिरावट आएको छ, यसलाई सामान्य करेक्सनकै रुपमा लिनुपर्छ’, उनले भने। 

सेयर कर्जा सीमाकै कारण बजार यो साता प्रभावित भएको रानाभाटले बताए। ‘बजारमा लगानीकर्ता मनोविज्ञानले पनि काम गर्ने भएकोले सामाजिक सञ्जालमा आएका विभिन्न प्रचारले लगानीकर्ता डराएजस्तो देखिन्छ’, उनले भने, ‘सेयर कर्जाको सीमाका विषयमा राष्ट्र बैंक तत्काल ब्याक नभए पनि यो व्यवस्था सहज पार्न भूमिका खेल्न सक्छ।’

करेक्सन अवस्था लगभग सकिएकोले बजार अब धेरै तल नजाने पनि रानाभाटको भनाइ छ। ‘आगामी साताबाटै बजार फर्किन सक्ने सम्भावना पनि छ’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमा रातो पोतिएको छ। यो दिन वित्त समूह सर्वाधिक ३.६८ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह ३.३९ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.८३ प्रतिशत, विकास बैंक समूहमा ३.२९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.३१ प्रतिशत, लगानी समूहमा ३.२८ प्रतिशत, जीवन बीमा समूहमा २.१३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.९२ प्रतिशत, लघुवित्त समूहमा ०.४२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.८४ प्रतिशत, निर्जीवन बीमा समूहमा १.७२ प्रतिशत, अन्य समूहमा १.९३ प्रतिशत र व्यापार समूहमा १.०६ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३० कम्पनीका १ करोड ८१ लाख ९ हजार ९६७ कित्ता सेयर ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२.३४ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ५७ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको ३२ करोड ९९ लाख रुपैयाँबराबरको कारोबार भएको आज ङादी ग्रुप पावरको २३ करोड ३१ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको २२ करोड २० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २० करोड १० लाख रुपैयाँ, डिप्रोक्स लघुवित्तको १९ करोड २४ लाख रुपैयाँ, नेपाल बैंकको १९ करोड १ लाख रुपैयाँ, अरुण काबेली पावरको १७ करोड ७७ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको १६ करोड २० लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको १५ करोड ८५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज दुई कम्पनीको सेयरधनीहरु मालामाल भएका छन्। सानिमा लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तका सेयरधनीहरु मालामाल भएका हुन्। सानिमा लाइफको सेयरभाउ १० प्रतिशत तथा मनकामना स्मार्ट लघुवित्तको १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको छ।

यो दिन नारायणी डेभलपमेन्ट बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरभाउमा ७ प्रतिशतको हाराहारीमा गिरावट आएको छ। आज कर्पोरेट डेभलपमेन्ट बैंक र अरुण काबेली पावरको सेयरभाउ पनि ६ प्रतिशत बढीले घटेको छ।