काठमाण्डौ । सेयर बजार बिहीबार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज २३.५१ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २२५०.९१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.८८ अंकले घटेर ४३७.२१ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा १ अर्ब रुपैयाँ बढीको भएको छ। 

पुँजीबजार दबाब समूहमा महासचिव नयन बास्तोला तरलता दबाबकै कारण बजार माथि उठ्न नसकेको बताउँछन्। ‘लगानीकर्ताले चुनावपछि तरलता सहज हुने अपेक्षा गरेका थिए, जुन अहिलेसम्म हुन सकेको छैन’, उनले भने, ‘सोही कारणले बजार प्रभावित भएको हो।’

बास्तोलाले पछिल्ला पुँजीबजार निरुत्साहित हुने खालका नीति तथा व्यवस्थाले लगानीकर्ताको मनोबल गिर्दा बजार खस्केको बताए। ‘बजार बढ्न नदिने समूहहरु पनि सक्रिय रहेको देखिन्छ’, उनले भने, ‘अहिले केही कर्पोरेट संस्था र संगठित संस्थाहरुले नकारात्मक समाचार फैलाएर बजार घटाएका छन्।’

आगामी बजेटमार्फत पुँजीबजारमा देखिएका समस्या समाधानका लागि आवश्यक नीति ल्याउन आवश्यक रहेको बास्तोला बताउँछन्। 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट बजार २२०० बाट तल नजाने दाबी गर्छन्। ‘हाललाई बजार २२०० देखि २६०० को विन्दुको बीचमै तलमाथि भइरहने देखिन्छ’, उनले भने। 

पुँजीगत खर्च बढ्दा बैंकिङ प्रणालीमा केही दिनभित्रै तरलता थपिने बिष्टको भनाइ छ। ‘अहिले नै मिडियामा सबै कुरा नआए पनि १५–२० दिनभित्र तरलतामा केही सहज हुने देखिन्छ’, बिष्टले भने। 

बिष्टले सेयर बजारमा सुधार ल्याउन नेपाल राष्ट्र बैंकले यसअघिका नीतिहरुमा परिमार्जन गर्नुपर्ने बताए। 

यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा रातो पोतिएको छ भने एउटामा मात्रै हरियाली छाएको छ। 

आज वित्त समूह सर्वाधिक २.४५ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह २.०९ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.४२ प्रतिशत, व्यापार समूहमा १.२५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.७२ प्रतिशत, जलविद्युत समूहमा १.७१ प्रतिशत, निर्जीवन बीमा समूहमा १.४६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८२ प्रतिशत, अन्य समूहमा १.०६ प्रतिशत, लघुवित्त समूहमा १.११ प्रतिशत, जीवन बीमा समूहमा १.५४ प्रतिशत र लगानी समूहमा १.५४१ प्रतिशतको गिरावट आएको छ।

यो दिन म्युचुअल फन्ड समूह ०.७५ प्रतिशतले उकालो लागेको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१९ कम्पनीका ३७ लाख ९८ हजार २६३ कित्ता सेयर १ अर्ब ३० करोड ९ लाख ८१ हजार ९९६ रुपैयाँको किनबेच भएका छन्।

यो दिन प्रभु बैंकको संस्थापक सेयरको सर्वाधिक १२ करोड ८१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया लघुवित्तको संस्थापक सेयरको ५ करोड ७ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण भ्याली हाइड्रोपावरको ३ करोड ९० लाख रुपैयाँ, अरुण काबेली पावरको ३ करोड १२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ९६ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको २ करोड ७८ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ७० लाख रुपैयाँ, नबिल बैंकको २ करोड ६६ लाख रुपैयाँ, सेन्चुरी कमर्सियल बैंकको २ करोड ५५ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको २ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन जनरल इन्स्योरेन्सका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशत बढीले उकालो लागेको छ। 

आज लुम्बिनी जनरल इन्स्योरेन्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशत बढीले ओरालो लागेको छ।