काठमाण्डौ । सेयर बजार बिहीबार दोहोरो अंकले उकालो लागेको छ। 

बजार आज १२.५७ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९७८.९४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.१० अंकले बढेर ३८२ को विन्दुमा उक्लिएको छ। कारोबार रकम १ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार वीरेन्द्र बिष्ट आज बजार बढ्नुले विस्तारै ४–१२ को दबाब सकिँदै गएको हुन सक्ने बताउँछन्। ‘तर पनि बजारमा बिक्रीचाप यथावत नै छ’, उनले भने। 

सीडी रेसियो ९० प्रतिशतभन्दा तल आएकोले तरलता पनि सहज हुँदै गएको मान्न सकिने बिष्ट बताउँछन्। ‘त्यसैले अब बजार २००० को विन्दुभन्दा तल लामो समय नरहला’, उनले भने। 

तरलता सहज हुँदै जानु, लाभांशको सिजन सुरु हुन लाग्नु, संसदीय र प्रदेशसभाको चुनावी वातावरण बन्दै जानु र छोटो समयमा बजार धेरै घट्नुजस्ता कारणले बजार अब फर्किन सक्ने बिष्टको भनाइ छ। 

सक्रिय लगानीकर्ता दमोदर गजुरेल आजको बढाइले बजार सम्हालिन थालेको संकेत गर्ने बताउँछन्। प्राविधिक रुपमा पनि अब बजार बढ्ने देखिएको उनको भनाइ छ। 

उच्च विन्दुमा बिक्री गरेकाहरुले ‘बाई ब्याक’ गर्दै गरेको हुन सक्ने गजुरेलको अनुमान छ। ‘मार्जिन कल पनि सकिँदै गएकोले अब बजार विस्तारै सम्हालिन सक्छ’, उनले भने, ‘प्यानिक सेल सकिएकोजस्तो देखिन्छ।’ 

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ। 

यो दिन अन्य समूह सर्वाधिक २.८१ प्रतिशतले उकालो लागेको छ। व्यापार समूह १.४८ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.४२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.४७ प्रतिशत, विकास बैंक समूहमा ०.६९ प्रतिशत, जलविद्युत समूहमा ०.३७ प्रतिशत, वित्त समूहमा ०.९८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५४ प्रतिशत, लघुवित्त समूहमा ०.९२ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.७ प्रतिशतको बढोत्तरी भएको छ। 

आज लगानी समूह ०.१ प्रतिशतले घट्दा जीवन बीमा समूहमा ०.०४ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२१ कम्पनीका ३५ लाख ९४ हजार ५९४ कित्ता सेयर १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१९ रुपैयाँ किनबेच भएका छन्। 

यो दिन नेपाल टेलिकमको सर्वाधिक १३ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनसीसी बैंकको १० करोड ३५ लाख रुपैयाँबराबरको कारोबार भएको आज सिभिल बैंकको ४ करोड ७१ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड ५७ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ५० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ५० लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ४३ लाख रुपैयाँ, अरुण काबेली पावरको २ करोड ३९ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २ करोड ३० लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको २ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने 

आज ३ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। आँधिखोला लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा रिभर फल्स पावर र सामुदायिक लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

यो दिन लुम्बिनी जनरल इन्स्योरेन्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।