काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।

आज बजार २३.८५ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९३३.१३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.०२ अंकले घटेर ३७५.८२ को विन्दुमा ओर्लेको छ। कारोबार रकम २ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार प्रकाश रजौरे ट्रेडहरुले नाफा बुक गर्दा बजारमा करेक्सन आएको बताउँछन्। ‘बैंकहरुले केही दबाब दिँदा पनि बजार आज घटेको हो’, उनले भने। 

गभर्नर नेपाल फर्किएपछि प्रधानमन्त्रीसँग सल्लाह गरेर सन्तुलित मौद्रिक नीति ल्याउने सम्भावना रहेको रजौरे बताउँछन्।

सक्रिय प्रकाश न्यौपाने पनि आज बजारमा नाफा बुक नै भएको बताउँछन्। ‘अझै एक–दुई दिनको कारोबारमा करेक्सन हुने देखिन्छ’, उनले भने, ‘अब मौद्रिक नीतिपछि मात्रै बजारका दिशा तय हुन्छ।’ 

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ। 

यो दिन जीवन बीमा समूह १.२२ प्रतिशतले बढ्दा लगानी समूह १ प्रतिशतले उकालो लागेको छ। 

आज विकास बैंक समूह सर्वाधिक ३.५१ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूहमा २.७५ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.९२ प्रतिशत, व्यापार समूहमा २.०७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.७२ प्रतिशत, वित्त समूहमा २.१५ प्रतिशत, निर्जीवन बीमा समूहमा १.२३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८५ प्रतिशत, अन्य समूहमा २.६१ प्रतिशत, लघुवित्त समूहमा १.५८ प्रतिशत र म्युचुअल फन्ड समूहमा १.३ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका ५६ लाख ४१ हजार ५४० कित्ता सेयर २ अर्ब ४ करोड ४८ लाख ३१ हजार ९४८ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नागरिक लगानी कोष (सीईटी) को सर्वाधिक १५ करोड ६५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ९ करोड ७ लाख रुपैयाँबराबरको कारोबार भएको आज लाइफ इन्स्योरेन्स कर्पोरेसनको ८ करोड २ लाख रुपैयाँ, नबिल बैंकको ७ करोड १४ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको ५ करोड ८७ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ५ करोड १० लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ४ करोड ९४ लाख रुपैयाँ, अरुण काबेली पावरको ४ करोड ३९ लाख रुपैयाँ, एचआईडीसीएलको ४ करोड ३८ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज २ वटा कम्पनको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। सिवाईसी लघुवित्त र न्यादी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको हो। लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन उन्नति सहकार्य लघुवित्तका सेयरधनीहरु सर्वाधिक गुमाए। यो लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।