काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज २३.८३ अंकले घटेर १८१५.१३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.८३ अंकले घटेर ३५५.६० को विन्दुमा ओर्लेको छ। कारोबार रकम १ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार गोविन्दप्रसाद घिमिरे पछिल्लोपटक बैंकहरुले घोषणा गरेको लाभांशमा लगानीकर्ताहरुको चित्त नबुझ्दा बजारमा बिक्रीचाप परेको बताउँछन्। ‘फिक्स्ड डिपोजिटको ब्याजदरको तुलनामा नगद लाभांश कम हुँदा लगानीकर्ताहरुको मनोबल गिरेको हुन सक्छ’, उनले भने। 

अर्कोतर्फ दसैँका लागि पैसा जुटाउने अन्य माध्यम नभएका कारण र सजिलैसँग सेयर बजारबाट पैसा झ्क्नि सक्ने भएकोले बिक्रीचाप परेको घिमिरेको तर्क छ। 

अर्का बजार जानकार महेश रिजाल पनि आज बजार घट्नुको मुख्य कारण बैंकहरुले नगद लाभांश घोषणा गर्नुमात्रै रहेको बताउँछन्। ‘गत साता सिटिजन्स बैंक र निफ्राले लाभांश घोषणा गरेका थिए, तर घोषित लाभांश लगानीकर्ताले अपेक्षा गरेभन्दा फरक आयो’, उनले भने। 

अर्कोतर्फ कर्जाको ब्याजदर कात्तिकबाट बढ्न सक्ने आँकलनले पनि बजार प्रभावित भएको रिजाल बताउँछन्। ‘यही कारण लोन सेलमेन्ट गर्दा पनि बजारमा बिक्रीचाप परेको देखिन्छ’, उनले भने, ‘योसँगै मार्जिन कलको व्यवस्थापनका कारण पनि बजार घटेको हुन सक्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन लगानी समूह सर्वाधिक २.८२ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह २.५७ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.७१ प्रतिशत, व्यापार समूहमा १.९२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.८२ प्रतिशत, विकास बैंक समूहमा १.५२ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.७९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.८१ प्रतिशत, अन्य समूहमा १.६६ प्रतिशत, लघुवित्त समूहमा १.२५ प्रतिशत, जीवन बीमा समूहमा ०.७३ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.२८ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका ४० लाख १४ हजार ४१९ कित्ता सेयर १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन लक्ष्मी बैंकको सर्वाधिक २६ करोड २ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ४ करोड २९ लाख रुपैयाँबराबरको भएको आज रिडी पावरको ३ करोड ४९ लाख रुपैयाँ, निफ्राको २ करोड ५९ लाख रुपैयाँ, अरुण काबेली पावरको २ करोड २३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड १३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड ८६ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १ करोड ६७ लाख रुपैयाँ, सिटिजन्स बैंकको १ करोड ५८ लाख रुपैयाँ र प्राइम कमर्सियल बैंकको १ करोड ५१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने 

आज अभियान लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरमा धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको पहिलो दिन नै १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

यो दिन तेह्रथुम पावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।