काठमाण्डौ । धितोपत्र कारोबार साताको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज १५.६१ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १९५०.३७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.६५ अंकले घटेर ३८२.६१ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पनि हिजोको तुलनामा घटेर साढे १ अर्ब रुपैयाँको हाराहारी भएको छ। 

बजार जानकार प्रेम ओली अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्दा आज बजारमा करेक्सन आएको बताउँछन्। 

चुनावी परिणाम आइरहँदा अब नयाँ सरकार कस्को नेतृत्वमा बन्ला भन्ने चासो पनि लगानीकर्तामा रहेको ओलीको भनाइ छ। ‘त्यही कारणले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका हुन सक्छ’, उनले भने। 

राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षामार्फत ब्याजदर बढ्न नदिने नीति लिएको अबको बजार सकारात्मक नै हुने ओलीको अनुमान छ। 

बजार जानकार राजकुमार न्यौपाने मौद्रिक नीतिको समीक्षामार्फत स्प्रेड दर घटाउँदा बैंकहरुको नाफा प्रभावित हुने आशंकामा लगानीकर्ताहरु डराएको हुन सक्ने बताउँछन्। ‘सोही कारणले आज सेलिङ प्रेसर आएको हुन सक्छ’, उनले भने। 

यद्यपि ब्याजदर घट्दा सेयर बजारलाई सकारात्मक प्रभाव पार्ने न्यौपाने बताउँछन्। ‘अब केही समय बजार साइडवेजमा चलेर माथि नै जान सक्छ’, उनले भने, ‘किनकि अब बजार धेरै घट्ने ठाउँ छैन।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ। 

यो दिन म्युचुअल फन्ड समूह ०.२४ प्रतिशतले बढ्दा व्यापार समूहमा ०.१६ गिरावट आएको छ। 

आज वित्त समूह सर्वाधिक १.५१ प्रतिशतले ओरालो लागेको छ। म्युचुअल फन्ड समूह १.४१ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.७३ प्रतिशत, विकास बैंक समूहमा १.३८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.६० प्रतिशत, जलविद्युत समूहमा १.२२ प्रतिशत, लगानी समूहमा ०.४८ प्रतिशत, जीवन बीमा समूहमा ०.७० प्रतिशत, लघुवित्त समूहमा ०.३४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.१७ प्रतिशत र अन्य समूहमा १.१३ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३६ कम्पनीका ३७ लाख ६१ हजार २९९ कित्ता सेयर १ अर्ब ४९ करोड ४३ लाख ९४ हजार ६१४ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक १६ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ७ करोड २४ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको ६ करोड १६ लाख रुपैयाँ, एभरेस्ट बैंकको ५ करोड ९८ लाख रुपैयाँ, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ५ करोड ८८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड ६६ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको ३ करोड ६२ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ३ करोड ३६ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ३ करोड २६ लाख रुपैयाँ र घलेम्दी हाइड्रोको २ करोड ६६ लाख रुपैयाँ बढीको करोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन खप्तड लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउ ८ प्रतिशत बढीले उकालो लागेको छ। 

आज सिनर्जी पावरका सेयरधनीहरुले गुमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।