काठमाण्डौ । सेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ।
बजार आज २५.६६ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९२७.६५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८७ अंकले बढेर ३६५.०९ को विन्दुमा पुगेको छ। कारोबार रकम करिब २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल सबै कुरा सकारात्मक बन्दै गएकोले बजार लयमा फर्किन थालेको बताउँछन्। ‘पुँजीगत लाभकरको अन्यौलता पनि घटेको छ’, उनले भने, ‘असार मसान्तमा कर्जाको ब्याजदर १ प्रतिशतले घट्न सक्ने देखिन्छ। यिनै कुराले पनि बजार सकारात्मक बनेको हो।’
उता नयाँ ब्रोकरहरुले पनि करिब १२ अर्ब रुपैयाँ लिएर बजारमा आएको लम्सालले बताए। ‘पहिले पनि नयाँ ब्रोकर आउँदा बजार बढेको थियो’, उनले भने, ‘अहिले पनि नयाँ ब्रोकर आउँदा बजारमा सकारात्मक प्रभाव पर्ने देखिन्छ।’
अब असार मसान्तको प्रभाव सामान्य पर्ने भए पनि बजारले बटम लगाएको देखिएको लम्सालले बताए। ‘दीर्घकालीन लगानीकर्ताहरु बजार छिर्दै गरेको अवस्था पनि छ’, उनले भने।
बजार जानकार गोविन्दप्रसाद घिमिरे पुँजीगत लाभकरको अन्यौलता हटेकोले बजार बढेको बताउँछन्। ‘यसअघि करको अन्यौलताले बजार घटेको थियो’, उनले भने, ‘अहिले करको विषयमा स्पष्ट भएपछि बजार बढेको हो।’
अब ब्याजदर पनि घट्दै जाँदा बजार पनि बढ्दै जाने घिमिरेको भनाइ छ। ‘अब लाभांश सिजन पनि सुरु हुँदैछ’, उनले भने, ‘अब बेच्नेभन्दा किनेर होल्ड गर्नेको संख्या बढ्दै जाँदा २–४ महिनामा बजार २२०० सम्म जान सक्ने देखिन्छ।’
जेठपछि बजारले लय समातेको घिमिरे बताउँछन्। ‘बजेटपछि बजार अप ट्रेन्ड रहेको छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।
यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ५.६७ प्रतिशतले उकालो लागेको छ। निर्जीवन बीमा समूह ४.६४ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.१५ प्रतिशत, विकास बैंक समूहमा ०.८० प्रतिशत, वित्त समूहमा १.१८ प्रतिशत, जलविद्युत समूहमा ३.१५ प्रतिशत, लगानी समूहमा १ प्रतिशत, जीवन बीमा समूहमा १.६३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १ प्रतिशत, लघुवित्त समूहमा ०.९३ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.३० प्रतिशत, अन्य समूहमा ०.२९ प्रतिशत र व्यापार समूहमा १.३७ प्रतिशतको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २६९ कम्पनीका ५५ लाख ४१ हजार ८७८ कित्ता सेयर १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०२ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन सोल्टी होटेलको सर्वाधिक ९ करोड ६८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको ९ करोड १७ लाख रुपैयाँबराबरको कारोबार भएको आज अपर तामाकोशीको ८ करोड ५६ लाख रुपैयाँ, नेपाल टेलिकमको ७ करोड २९ लाख रुपैयाँ, आईजीआई प्रिडेन्सियल इन्स्योरेन्सको ६ करोड ४४ लाख रुपैयाँ, चिलिमे जलविद्युतको ६ करोड १ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ५ करोड ९७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ४ करोड ८ लाख रुपैयाँ, कुमारी बैंकको ३ करोड ४६ लाख रुपैयाँ, फर्स्ट माइक्रोफाइनान्सको ३ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो न्यादी हाइड्रोपावरका सेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको छ।
आज मनकामना स्मार्ट लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ३ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
9 hours ago
19 hours ago
19 hours ago
21 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago