काठमाण्डौ। प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)को सातौँ दिक्षान्त समारोह सम्पन्न भएको छ। 

ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको टीबीसीमा लिड्स बेकेट युनिभर्सिटी (एलबीयू) तथा द युनिभर्सिटी अफ बेष्ट इंग्ल्यान्ड (यूडब्ल्यूई)को सम्बन्धनमा अध्यायनरत विद्यार्थीहरु दीक्षित भएका हुन्।

कोरोना महामारीका कारण गत वर्षको दीक्षान्त समारोह भर्चुअल्ली सम्पन्न भए पनि यस वर्ष भने कोरोना संक्रमण केही नियन्त्रणमा रहेको हुँदा भौतिक उपस्थितिमै हायात रिजेन्सी होटेलमा कार्यक्रमको आयोजना गरिएको हो। यद्यपि कार्यक्रमस्थलमा कोरोना संक्रमण नियन्त्रणको मापदण्डलाई पालना गरिएको थियो। त्यस्तै सीमित व्यक्तिहरुलाई मात्रै कार्यक्रमस्थलमा निम्तो गरिएको थियो भने कार्यक्रममा उपस्थित हुन नसक्नेहरुका लागि प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको थियो।

सम्पन्न दिक्षान्त समारोहलाई दुई भागमा विभाजन गरिएको थियो। बिजनेस विषयका विद्यार्थीहरुलाई बिहानको समयमा र आईटीका विद्यार्थीहरुलाई दिउँसोको समयमा दीक्षित गरिएको थियो। समारोहमा स्नातक तथा स्नातोकोत्तर तहका गरी जम्मा ४१९ जना विद्यार्थी दीक्षित भएका हुन्।

कोरोनाकै कारण उपस्थित हुन नसकेका कलेजको सल्लाहकारहरु जोन एडवर्ड होलिस्टर मोन्टागु, माइकल रुटल्यान्ड, प्रोफेसर फर्गस लियोनलगायतले दिक्षान्त समारोहलाई भर्चुअल्ली सम्बोधन गरेका थिए। 

त्यस्तै युनिभर्सिटी अफ बेस्ट अफ इंग्ल्यान्डका भाइस चान्सलर तथा अध्यक्ष स्टिभ वेस्ट–सीबीई, लिड्स बेकेट युनिभर्सिटीका प्रोफेसर तथा प्रो भाइस चान्सलर जिन किए, ब्रिटिस कलेजका एक्जिक्यूटिभ प्रिन्सिपल डा. मेरी बिशपले पनि स्वागत मन्तव्य राख्दै दीक्षित विद्यार्थीहरुलाई बधाई दिएका थिए। कलेजका सल्लाहकार डा. अर्जुन कार्कीलगायत भने व्यक्तिगत रुपमै उपस्थित भएका थिए।

सोही कार्यक्रमका लागि कलेजका कार्यकारी निर्देशक तथा संस्थापक राजन कँडेल बेलायतबाट नेपाल आएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै कँडेलले कोरोनाको महामारीको समयमा पनि विद्यार्थीहरुले उत्कृष्ट नतिजा हासिल गरेको भन्दै सबैलाई बधाइ दिए। ‘कोरोनाभाइरसको महामारीमा पनि हाम्रो विद्यार्थीहरुले राम्रो नतिजा ल्याएका छन्। कलेजकै इतिहासमा सबैभन्दा धेरैले विद्यार्थीहरुले डिस्टिङ्सन ल्याएका छन्’, कँडेलले भने, ‘यस वर्ष हाम्रो कलेजले ब्रिटिस एक्रिडेसन काउन्सिलको पनि मान्यता पाएका हुँदा कलेजबाट डिग्री प्राप्त गर्ने विद्यार्थीहरुले अतिरिक्त सम्मान पनि पाएका छन्। मलाई गर्व छ हाम्रो कलेजबाट ग्राजुयट भएका विद्यार्थीहरु सफल हुनेछन्। तपाइँहरुको उज्वल भविष्यको कामना पनि गर्दछु।’