काठमाण्डौ । एसियाका सबैभन्दा धनी गौतम अडानीलाई नयाँ वर्षमा झट्का लागेको छ। विश्वका धनीहरुको सूचीमा अडानी चौथो नम्बरमा झरेका हुन्। 

ब्लुमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार बुधबार अडानीको नेटवर्थ ९१.२ अर्ब करोड डलरले घटेर ११८ अर्ब डलरमा झरेको छ। अमेरिकाको दिग्गज ई–कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोस अब धनीहरुको सूचीमा उनलाई पछि तेस्रो स्थनमा उक्लिएका छन्। बेजोसको नेटवर्थ बुधबार ५.२३ अर्ब डलरले बढ्यो र उनको कुल सम्पत्ति एक झट्कामा ११८ अर्ब डलर पुगेको छ। दशमलवपछिको भिन्नता देखिए पनि बेजोसको कुल सम्पत्ति अडानीको भन्दा थोरै बढी रहेको छ। 

गत वर्ष अडानीको कुल सम्पत्ति ४४ अर्ब डलरले बढेको थियो र उनी सबैभन्दा धेरै कमाउने अर्बपति बनेका थिए। तर, यो वर्ष उनको कुल सम्पत्ति अहिलेसम्म २.४४ अर्ब डलरले घटिसकेको छ। 

विश्वका धनीहरुको सूचीमा फ्रान्सका व्यापारी बर्नार्ड अर्नाल्ट १८२ अर्ब डलरको सम्पत्तिका साथ पहिलो स्थानमा छन्। यो वर्ष उनको कुल सम्पत्ति २० अर्ब डलरले बढेको छ। अर्थात् दैनिक करिब २ अर्ब डलर आम्दानी गरेका छन्। 

टेस्ला, स्पेसएक्स र ट्विटरका मालिक एलन मस्क १३२ अर्ब डलरको कुल सम्पत्तिका साथ सूचीमा दोस्रो स्थानमा छन्। बुधबार उनको कुल सम्पत्ति २.७८ अर्ब डलरले बढेको छ। यो वर्ष हालसम्म उनको कुल सम्पत्तिमा भने ४.८४ अर्ब डलरले घटेको छ। 

यस सूचीमा अमेरिकाका दिग्गज लगानीकर्ता वारेन बफेट १११ अर्ब डलरको कुल सम्पत्तिका साथ पाँचौँ स्थानमा छन्। माइक्रोसफ्टका संस्थापक बिल गेट्स (१११ अर्ब डलर) छैटौँ, ल्यारी एलिसन (९८ अर्ब डलर) सातौँ, मुकेश अम्बानी (८७.६ अर्ब डलर) आठौँ, ल्यारी पेज (८५.६ अर्ब डलर) नवौँ र स्टिभ बाल्मर (८४.६ अर्ब डलर)का साथ दसौँ स्थानमा छन्।