काठमाण्डौ । सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा हिमाल लगायत ४ हिमशृंखलाहरुको सरसफाइ गर्दै नेपाली सेनाको अगुवाइमा सुरु भएको हिमाल सरसफाइ अभियानको आधा कार्य सफल भएको छ।
प्रमुख कर्पोरेट साझेदारका रुपमा कोका–कोला फाउन्डेसन रहेको यस अभियानमा अन्य थुप्रै संस्थाले पनि सहकार्य गरेका छन्।
यस क्याम्पेनमा नेपाली सेना र शेर्पाहरु गरी जम्मा ७७ जना सदस्य रहेका छन्। वार्षिक ११ सय आरोही आउने ८ हजार मिटरभन्दा बढी उचाइका यी ४ हिमालमा आरोही सँग–सँगै ठूलो मात्रामा फोहोर पनि भित्रिन्छन्। जसले गर्दा हिमाली क्षेत्रको फोहोर व्यवस्थापन एक प्रमुख चुनौतीको रुपमा रहेको छ।
यही समस्या समाधान गर्नका लागि गत अप्रिल ५ बाट हिमाल सरसफाइ अभियान सुरु गरिएको थियो। जसमा अहिलेसम्म ४ वटा हिमशृंखलाबाट २९ हजार ९९८ केजी (५ हजार २०४ केजी कुहिने र २४ हजार ७९४ केजी नकुहिने) फोहोर संकलन भइसकेको छ। यी फोहरमा रित्तो अक्सिजन क्यानिस्टर, पाल, खानेकुराका कन्टेनर, प्लास्टिक, गिलास, आल्मुनियम, इलेक्ट्रोनिक फोहोर आदि रहेका छन्। अभियानलाई तीव्रता दिँदै ३५ हजार केजी फोहोर संकलन गर्ने लक्ष्यसहित हिमाल सरसफाइ भइरहेको छ।
अभियानका बारेमा क्याम्पेन डिरेक्टरले भने, ‘अत्याधिक प्रतिकुल मौसम, चोटपटकको सम्भावना र उच्च जोखिम भएकोले गर्दा हिमालको यात्रा चुनौतीपूर्ण हुन्छ। हाम्रो एक्स्पेडिसन टिमका सदस्यहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै हामीले अहिले सम्मको यात्रा तय गरेका छौँ। र यसैलाई निरनतरता दिँदै हामी यो अभियानलाई सुरक्षित र सफलतापूर्वक सम्पन्न गर्न सक्दो प्रयास गर्नेछौँ।’
नेपाली सेना र विभिन्न सरोकारवालाको अगुवाइमा सञ्चालित यस हिमाल सरसफाई अभियान विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाइ अभियान मध्यको एक हो र यो अभियानको तेस्रो संस्करण हो। जसमा कोका–कोला फाउन्डेसन लगातार ३ वर्षदेखि प्रमुख साझेदार रहेको छ।
हिमालको प्राकृतिक सुन्दरता र वातावरण संरक्षण तथा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने लक्ष्य सहित ४ वटा हिमशृंखलाको सरसफाइ गरी यो अभियान सञ्चालन गरिएको हो। यस वर्षको अभियानको नारा ‘हिमाल बचाउने प्रयास; हाम्रो हिमाल, हाम्रो दायित्व’ रहेको छ।
स्थानीय सरकार, सरोकारवाला र सम्बन्धित साझेदारसँगको समन्वयमा यो अभियान अघि बढिरहेको छ। यस अभियानबाट संकलन गरिएका फोहोरलाई रिसाइकल पार्टनरलाई हस्तान्तरण गरिनेछ।
यो अभियान विश्व वातावरण दिवसका अवसर पारेर जुन ५ मा समापन गरिनेछ।
13 minutes ago
49 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
14 hours ago