इटहरी । एमालेको गढ मानिने सुनसरीको धरान र इटहरी उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेद्वारहरुले सुरुवाती अग्रतालाई कायमै राखेका छन् । 

धरान उपमहानगरपालिकाको दुई वटा वडा गरी ५०० मत गणना गर्दा गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार कांग्रेसका किशोर राई र उपमेयर पदका माओवादी केन्द्रका अइन्द्र बिक्रम बेघाले नै अग्रता कायम राखेका छन् । 

पछिल्लो परिणाम अनुसार कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार किशोर राईले १७८ मत ल्याएका छन् भने स्वतन्त्र मेयर पदका उम्मेदवार हर्क साम्पाङले १३८ मत ल्याएका छन् । एमालेको तर्फबाट उम्मेदवार बनेकी मञ्जु भण्डारीले ८२ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघाले १६९ मत प्राप्त गरेका छन् भने एमालेका पदम लिम्बूले ९८ मत प्राप्त गरेका छन् ।

इटहरीमा पनि गठबन्धनकै उम्मेद्वार अगाडि छन् । इटहरी उपमहानगरपालिकाको दुई वटा वडाको १००÷१०० मत गन्दा मेयर र उपमेयर पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकाहरुले अग्रता लिएका छन् ।

मेयर पदमा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार बनेका कांग्रेसका हेमकर्ण पौडेलले १३४ मत ल्याएका छन् । 

उनलाई एमालेका तर्फबाट मेयर पदका उम्मेदवार यामकुमार सुब्बाले ७६ मतसहित पछ्याइरहेका छन् । 

उपमेयर पदमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत(समाजवादी)का केशबकुमार बिष्टले ९६ मत ल्याएका छन् भने एमालेकी संगीता चौधरीले ८८ मतसहित पछ्याइरहेकी छिन् ।