– अर्जुन तिमिल्सिना

काठमाण्डौ । धितोपत्र पनि एक प्रकारको सम्पत्ति हो। यसमा पनि घर–जग्गामा जस्तै नामसारी हुने गर्छ। तर, यसका लागि भने केही आवश्यक कागजपत्र र प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।

धितोपत्र नामसारी खासगरी काठमाण्डौको पुतलीसडकस्थित सीडीएससीको कार्यालयमा मात्रै हुने गर्छ । राजधानीबाहिरबाट आउनेले आवश्यक कागजपत्रसहित काठमाण्डौ नै आउने पर्ने बाध्यता रहेको छ। यो प्रक्रिया केही झन्झटिलो पनि देखिन्छ। 

धितोपत्रधनीको मृत्युपश्चात सम्बन्धित हकवालाले धितोपत्र केन्द्रीय निक्षेप सेवा नियामवली, २०६८ (तेस्रो संशोधन २०७५)को अनुसूची २५(ग) अनुसारको फारम भरी मृतकको नाममा रहेको धितोपत्रको हितग्राही खाता विवरण तथा आफूले पाउने धितोपत्रको विवरणसहित आफ्नो हितग्राही खाता रहेको निक्षेप सदस्यसँग निवेदन दिनुपर्नेछ। 

उक्त धितोपत्र नामसारीका लागि अभौतिक सेयरको हकमा भन्दा भौतिक सेयरमा केही बढी कागजपत्र आवश्यक पर्छ। भौतिक सेयर नामसारी गर्दा आवश्यक कागजपत्र एक–एक प्रति सेयर रजिस्ट्रार, निक्षेप सदस्य र सीडीएससी गरी ३ ठाउँमा बुझाउनुपर्ने हुन्छ।

अभौतिक (डिम्याट) सेयरको हकमा आवश्यक कागजपत्र निक्षेप सदस्य र सीडीएससीमा गरी २ ठाउँमा एक–एक प्रति बुझाए पुग्छ। 

आवश्यक कागजपत्र 

  • मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि 
  • मृतकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • हकवालाको नागरिक्ताको प्रमाणपत्रको प्रतिलिपि 
  • नाता प्रमाणित प्रमाणपत्र तथा उल्लेखित सम्पूर्ण व्यक्तिहरुको नागरिकताको प्रतिलिपि 
  • हकवाला रहेको खण्डमा मञ्जुरीनामा 

यी सबै कागजपत्रको काम सम्पन्न भएपश्चात सीडीएससीको वेबसाइटमा ३५ दिने सूचना निकालिनेछ। यदि अभौतिक सेयर भएको खण्डमा सीडीएससीले सम्बन्धित सेयर रजिस्ट्रारमा पठाउनुपर्नेछ। 

यी सबै प्रक्रिया पूरा भएपछि ३५ दिनसम्म कुनै हकदावी नआएमा निवेदकको डिम्याट खातामा सम्बन्धित सेयर रजिस्ट्रारले सेयर जम्मा गरिदिनुपर्ने हुन्छ।