काठमाण्डौ । धितोपत्र बोर्डका पदाधिकारीहरुलाई पूँजीबजार सुधार संघर्ष समितिले कार्यालयमै बन्धक बनाई धम्कीपूर्ण ढंगले सहमति गर्न बाध्य बनाइएको खुलासा भएको छ । 

नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै बोर्डका अधिकारीहरुलाई गैरकानूनी र आपराधिक ढंगले पूँजीबजार सुधार संघर्ष समितिका नाममा केही व्यक्तिले गालीगलौज गर्दै कार्यालयभित्रै बन्धक बनाई जबरजस्ती सहमति गराइएको र त्यसको दुष्प्रचार गरी बजारबाट लाभ लिने काम भएको भन्दै विरोध जनाएको हो । 

'मिति २०७८।०६।०५ र २०७८।०६।०६ मा नेपाल धितोपत्र बोर्डको खुमलटार स्थित कार्यालयमा केही लगानीकर्ता बताउने समूहबाट आफ्ना माग राख्ने भन्दै धितोपत्र बोर्डका कर्मचारी तथा पदाधिकारीहरुलाई कार्यालय समयभन्दा पछि कार्यालयको प्रवेशद्वारमा अवरोध गरी कार्यालयभित्र नै बन्धक बनाइ कर्मचारीहरु प्रति गरिएको व्यवहार तथा प्रयोग गरिएको भाषाले यस नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठन तथा बोर्डका सम्पूर्ण कर्मचारीहरुलाई दुःखित बनाएको र सो कार्य प्रति यस संगठन उक्त गैरकानुनी कार्य प्रति खेद प्रकट गर्दछ ।' संगठनका सचिव राजाराम दुवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ-'बोर्डको नीतिगत निर्णयको नेतृत्व गर्ने बोर्ड अध्यक्षको अभावमा कुनै पनि नीतिगत निर्णय गर्न नसक्ने अवस्थामा बोर्डको कर्मचारीहरुलाई कार्यालयमा बन्धक बनाउने र अमर्यादित तथा अभद्र शव्दको प्रयोगले सम्पूर्ण लगानीकर्ता तथा समग्र पुँजी बजारको हितमा कार्य गरिरहेका कर्मचारीहरुको आत्मबल कमजोर बनाउनुका साथै नियमन निकायको गरिमालाई समेत आघात पुर्याएको छ । यस्ता गतिविधिहरुले बोर्डका कर्मचारीहरुको जीउज्यानमा सुरक्षाको जोखिम बढाएकोले कर्मचारीहरुको उचित सुरक्षाको व्यवस्था गरी सुरक्षित कार्यवातारणको प्रवन्ध गर्न तथा कानुनी रुपमा संगठित लगानीकर्ताका संघ/संस्थाहरुमार्फत मात्र लगानीकर्ताहरुको समस्या समाधान गर्ने व्यवस्थित प्रणालीको विकास गर्न बोर्ड व्यवस्थापन तथा सम्बन्धित निकाय समक्ष माग गर्दछौ ।' 

संगठनले लगानीकर्ताको नाममा अराजक तथा आपराधिक गतिविधि भएको भन्दै त्यस्तो काम गर्ने व्यक्ति कानुनी कार्वाहीको दायरामा आउनुपर्ने हुँदा बोर्ड व्यवस्थापन तथा सम्बन्धित निकायहरुलाई अनुरोध गदैै सम्पूर्ण कर्मचारीहरुको इमान्दारीतामाथि आक्षेप लगाउने तथा तथ्यहिन प्रचार गरी कर्मचारीको मनोवल कमजोर पारी पुँजी बजार जस्तो संवेदनशील क्षेत्रको नियमन निकायलाई कमजोर बनाई बजारबाट अबान्छित लाभ लिन प्रयत्न गर्ने व्यक्ति तथा समूहलाई बल पुग्नेप्रति चनाखो हुन सम्पूर्ण सरोकार पक्षसँग अपील समेत गरेको छ । 

सुधार संघर्ष समितिको नाममा हिजो लगानीकर्ताको एक समूहले धितोपत्र बोर्डसँग सहमति भएको बताएको थियो । लिखित सहमतिपत्र समेत सार्वजनिक गरिएको थियो । १६ बुँदे माग राख्दै आन्दोलन गरिरहेको भनिएको सो समूहका अधिकांश माग राष्ट्रबैंक र अर्थमन्त्रालयसँग सम्बन्धित भए पनि सहमति भएको र आन्दोलन सफल भएको भन्दै प्रचार गरिएको थियो । स्मरणरहोस्, सो समूहले राखेका १६ बुँदे मागमध्ये १० बुँदे माग सोझै राष्टबैंक र अर्थमन्त्रालयसँग सम्बन्धित छन् ।