काठमाण्डौ । पछिल्लो समयमा नेपालको सेयर बजारमा लगानीकर्ताको संख्यामात्र नभएर वित्तीय अपराधहरु पनि बढ्दै गएका छन्। 
बजारमा झुट्टो कारोबार, भित्री कारोबार, सर्कुलर कारोबार, मूल्यमा उतारचढाव, धितोपत्र बजारलाई प्रभावित पार्नेजस्ता विकृतिहरु बढ्दै गरेको पाइन्छ।

छोटो समयमै धेरै फाइदा लिन लगानीकर्ताहरुमात्र नभएर कम्पनीका सञ्चालकहरु पनि यस्ता गतिविधिमा संलग्न भएको पाइन्छ। तर यस्ता गतिविधिमा संलग्न हरकोहीलाई धितोपत्र कारोबारसम्बन्धी ऐन, २०६३ कारबाही गर्ने प्रावधान छ।

भित्री कारोबार

सार्वजनिक नभएको कम्पनीको धितोपत्र मूल्यमा असर गर्न सक्ने भित्री सूचनाका आधारमा धितोपत्र कारोबार गरेमा भित्री कारोबार मानिन्छ। भित्री कारोबारमा संलग्न व्यक्तिलाई ऐनअनुसार बिगोबमोजिम जरिवाना वा १ वर्षसम्म कैद वा दुवै हुने प्रावधान ऐनमा छ।

झुटो कारोबार

धितोपत्र कारोबार भए पनि स्वामित्वमा फरक नपरेमा, त्यसका साथै अर्कोले खरिद वा विक्री गर्ने प्रस्ताव गरेको मूल्य थाहा पाई सोहीसँग मिल्ने गरी खरिद वा बिक्री गर्ने प्रस्ताव गरेमा झुटो कारोबार मानिन्छ। झुटो कारोबारमा संलग्न हरकोही व्यक्तिलाई ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा १ वर्ष कैद वा दुवै सजाय हुने प्रावधान ऐनमा रहेको छ। त्यसका साथै त्यस्तो गतिविधिले कसैलाई हानी–नोक्सानी भएको छ भने भर्पाइसमेत दिनुपर्छ।

मूल्यको उतारचढाव

कुनै पनि व्यक्तिले कृत्रिम वा झुटो कारोबार गरी धितोपत्रको मूल्य स्थिर गरिएमा, बढाएमा, घटाएमा वा बराबर परिवर्तन गरेमा मूल्यको उतारचढाव गरेको मानिन्छ। यस्तो कार्यमा संलग्न हरकोही व्यक्तिलाई ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा १ वर्ष कैद वा दुवै सजाय हुने प्रावधान ऐनमा रहेको छ। त्यसका साथै त्यस्तो गतिविधिले कसैलाई हानी–नोक्सानी भएको छ भने भर्पाइसमेत दिनुपर्छ।

धितोपत्र बजारलाई प्रभावित पारेमा

कसैले धितोपत्र किन्न वा बेच्न उत्साहितका साथै धितोपत्र खरिद वा विक्री नगरोस् भन्ने उद्देश्यले कम्पनी मूल्य बढाउने, घटाउने वा स्थिर बनाउने कार्य गरेमा धितोपत्र बजारलाई प्रभावित पारेको मानिन्छ। धितोपत्र बजारलाई प्रभावित पार्ने गतिविधिमा संलग्न हरकोही व्यक्तिलाई ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा १ वर्ष कैद वा दुवै सजाय हुने प्रावधान ऐनमा रहेको छ। त्यसका साथै त्यस्तो गतिविधिले कसैलाई हानी–नोक्सानी भएको छ भने भर्पाइसमेत दिनुपर्छ।