– अर्जुन तिमिल्सिना

काठमाण्डौ । लामो समयदेखि रिक्त रहेको नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रिया सरकार अलमलमा परेको देखिन्छ। 

अध्यक्ष छनोट तथा सिफारिस गर्न गठित समिति विवाद परेदेखि यो प्रक्रिया अलमलमा परेको हो। समितिले अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान गरेकोमा ११ जनाले आवेदन पेस गरेका छन्। ती आवेदनहरु पनि अब के हुने भन्ने विषयमा अन्यौलता सिर्जना भएको छ। 

सर्वोत्तम सिमेन्टको भित्री कारोबारमा संलग्न रहेको भन्दै सरकारले धितोपत्र बोर्डको अध्यक्षबाट भीष्मराज ढुंगानालाई गत असोज १९ बर्खास्त गरेको थियो। लामो समयदेखि धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त नहुँदा साधारण सेयर निष्कासनसम्बन्धी प्रक्रियाहरु अवरुद्ध बन्न पुगेका छन्।

अर्कोतर्फ आफू निर्दोष रहेको भन्दै बर्खास्तीमा परेका ढुंगानाले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत रिट दर्ता गरेका छन्। उनीमाथि सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ विधिबाट सेयर निष्कासन प्रक्रियामा गोग्डेल सेयर लिएको आरोप लागेको छ। ढुंगानाले भने यसमा आफ्नो कुनै संलग्नता नरहेको र आफ्नो विवाहिता छोरीले सेयर खरिद गरेको बताउँदै आएका छन्। 

स्रोतका अनुसार ढुंगानाको रिटमाथि यही साता सर्वोच्चले छिनोफानो गर्न सक्छ। ‘तीन सदस्य न्यायाधीशहरुको बेन्चले ढुंगानाको विषयमा टुंगो लगाउने सम्भावना छ’, स्रोतले भन्यो। 

नाम उल्लेख नगर्ने सर्तमा एक ब्रोकरले सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबारमा प्रत्यक्ष रुपमा संलग्न नभएकोले नैतिक रुपमा जे भए पनि कानुनी रुपमा ढुंगानाले यो प्रकरणमा सफाइ पाउन सक्ने सम्भावना रहेको बताए। 

धितोपत्र बोर्डका एक अधिकारीले पनि अर्थ मन्त्रालयले अध्यक्ष नियुक्तिमा ढिलाइ गर्दै जाँदा बोर्डमा पुनः ढुंगाना नै फर्किने सम्भावना बढेको बताए। ‘जो आए पनि हामीलाई चाहिएको अध्यक्ष नै हो’, ती कर्मचारीले भने। 

ढुंगानाले पनि सर्वोच्च अदालतबाट छिट्टै कुनै निर्णय हुन सक्ने बताए। ‘मैले सर्वोच्चबाट न्याय पाउनेमा आशावादी छु’, उनले भने।