काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन् । 

बिहीबार बसेको मन्त्रीपरिषद बैठकले हमाललाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । 

बोर्ड अध्यक्षका लागि सिफारिस तथा छनौट समितिले हमालसहित डा. गोपाल भट्ट र कृष्ण पोखरेलको नाम सिफारिस गरेको थियो । 

हमाल प्रधानमन्त्री शेरबहादुर देउवाको रोजाईमा बोर्ड अध्यक्ष बन्न पुगेका हुन् । बोर्ड अध्यक्ष बन्न दरखास्त दिएकामध्ये ५ जनाको सर्टलिस्ट सार्वजनिक हुँदा नै हमाल अध्यक्ष बन्ने चर्चा गरिएको थियो । देउवालाई उनलाई अध्यक्ष बनाउन चाहेको समाचारहरु समेत प्रकाशित भएका थिए । 

यसअघिका अध्यक्ष भीष्मराज ढुंगाना भने गैरकानुनी सेयर किनबेच प्रकरणमा फसेसँगै निलम्बनमा परेका थिए । आइपीओ निश्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरीद प्रकरणमा ढुंगाना मुछिएका थिए । सो प्रकरणको विषयमा छानबिन गर्न अर्थमन्त्रलायले गठन गरेको समितिले समेत उनलाई दोषी ठहर्याएको थियो । 

ढुंगाना निलम्बनमा परेपछि रिक्त अध्यक्ष पदमा हमाल आएका हुन् । 

उनले थाइल्याण्डबाट १९९९ मा एमबीए गरेका थिए । 

स्वदेश र विदेशका पब्लिक र प्राइभेट कम्पनीहरुमा काम गरेको २९ वर्ष लामो अनुभव समेत उनीसँग छ । उनी सन् २००७-१० मा एनआरएनए थाइल्याण्डका दुई कार्यकाल प्रेसिडेन्ट समेत भएका थिए । थाई नेपाल चेम्बर अफ कमर्सको पनि उनी भाइस प्रेसिडेन्ट भएका थिए ।